Loading... आजः ५ बैशाख २०८२, शुक्रबार

दैलेख क्षेत्र नम्बर दुइमा एमालेबाट उम्मेदवार बन्न चाहनेको लाग्यो लर्को, कसले फूत्काउलान टिकट ?

यस्ता छन उम्मेदवारका आकांक्षीहरु

शेरबहादुर थापा/सुर्खेत ।
कर्णाली प्रदेशमा नै सबैभन्दा बढि बलियो मानिएको नेकपा एमाले दैलेखमा संघ तथा प्रदेश निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरुको लर्को लाग्न थालेको छ ।

गठबन्धन भन्दा झण्डै चार हजार मतले पछि परेको निर्वाचन क्षेत्र नम्बर दुइ लाई एमालेको गढको रुपमा लिइदै आइएको छ । यहाँ एमालेले २०६४ पछिका सबै चुनावमा जीत हात पार्दै आइरहेको छ ।
दैलेखको निर्वाचन क्षेत्र नम्बर दुईमा संघीय उम्मेदवार बन्न चाहनेहरुमा राजबहादुर शाही, विष्णु रिजाल, लक्ष्मीप्रसाद पोखरेल, विनोद कुमार शाह र राजबहादुर बुढा तीव्र आकांक्षा राखेका छन् । उनीहरुले टिकट पाउन कार्यकर्ताबीचमा तीव्र छलफल अघि बढाएका छन् ।

यहाँबाट संघीय चुनावमा उम्मेदवार बन्न चाहेका मध्ये राजबहादुर शाही हाल कर्णाली प्रदेशका सभामुखसमेत हुन । उनी सभामुखबाट राजीनामा दिने तरखरमा समेत लागिसकेका छन् । निर्वाचन क्षेत्र नम्बर दुइको ‘ख’ बाट निर्वाचित सभामुख शाहीको चामुण्डाविन्द्रासैनी, ठाँटीकाँध र आठबीस क्षेत्रमा राम्रो पकड छ ।

भैरवी गाउँपालिकाका विष्णु रिजाल नेकपा एमाले प्रचार विभागका उपप्रमुख समेत हुन । हालसम्म संसदीय फाँटमा कुनै अनुभव नलिएपनि केन्द्रीय राजनीतिमा राम्रो दख्खल उनले राख्न सफल भएका छन् । उनी युवाहरु माझ लोकप्रिय छवि बनाउँदै अघि बढन थालेका छन् । उनको प्रभाव दुल्लु तथा भैरवी क्षेत्रमा राम्रो रहेको बताइएको छ ।

यस्तै, जिल्ला इन्चार्ज समेत रहेका लक्ष्मी पोखरेल २०७० को निर्वाचनमा सांसद भइसकेका हुन । उनी संविधानसभा सदस्य समेत हुन । दुल्लु नगरपालिका क्षेत्रका उनी कडा मिजासका व्यक्तिको रुपमा चिनिन्छन् ।

चामुण्डा विन्द्रासैनीका राजबहादुर बुढा दुइ पटक सांसद भइसकेका छन् । २०६४ र २०७४ सालमा भएको निर्वाचनमा उनी यस क्षेत्रबाट निर्वाचित भएका हुन । उनलाई दुइ पटक सांसद बनाएर पठाएपनि संघीय सरकारको मन्त्री बन्न नसकेको आरोप एमालेका कार्यकर्ताले लगाउँदै आएका छन् ।

यस्तै, नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाहले पनि संघमा उम्मेदवार बन्ने भन्दै लविङ गरिरहेका छन् । तर उनलाई आफ्नो निर्वाचन क्षेत्रमा पार्टी हार्नेगरि टिकट वितरण गरेको भन्ने आरोप लाग्दै आइरहेको छ ।

माथि उल्लिखित पाँचै जना प्रदेशमा उम्मेदवार बन्ने सम्भावना अत्यन्तै न्यून छ ।

प्रदेश सभामा ‘क’मा कसको दाबी
दुइ ओटा प्रदेश निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशमा समेत उम्मेदवार बन्न चाहनेको लर्को लाग्न थालेको छ । प्रदेश सभा क्षेत्रको ‘क’मा हाल सांसदको रुपमा सुशिल थापा छन् । उनी युवामाझ अत्यन्तै लोकिप्रय युवा नेताका रुपमा चिनिन्छिन् ।

यस्तै यो प्रदेशबाट भैरवी गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रेम बुढाको समेत दाबी छ । यस्तै पार्टी जिल्ला सचिव तिलक रिजालको समेत प्रदेश सभा उम्मेदवारीमा दाबी छ ।

स्थानीय तहको निर्वाचनमा भैरवी गाउँपालिकाबाट उम्मेदवार समेत बनेका सर्वराज महताराको समेत प्रदेश सभामा आउने रहर छ तर पार्टीको अपानीले रोकेको खण्डमा उनी उम्मेदवार हुन पाउने छैनन् ।

प्रदेश सभा ‘ख’ मा कसको दाबी ?
प्रदेश सभा ‘ख’ मा उम्मेदवार बन्न चाहनेको संख्या आधा दर्जन भन्दा बढि छ । २०७४ मा सुर्यबहादुर शाही, ओमजंग शाही, उम्मेदवार बन्ने प्रतिस्पर्धामा भएपनि दुवै जनालाई हालका सभामुख राजबहादुर शाहीले टिकटमा वाजी मारेका थिए ।

अहिले चामुण्डाविन्द्रासैनीका नगरप्रमुखको उम्मेदवार बनेका सुर्यबहादुर शाही प्रदेश सभामा आउन खोजेका छन्, तर पार्टीको अपानीले रोकेको खण्डमा भने उनी उम्मेदवार बन्न पाउने छैनन् ।
आठबीस नगरपालिकाबाट दुइ जनाको प्रदेशमा लविङ बढिरहेको छ । ओमजंग शाही र निवर्तमान मेयर खडगराज उपाध्यायले प्रदेश सभामा आउन तीव्र इच्छा देखाएका छन् । यस्तै ठाँटीकाँधका निवर्तमान अध्यक्ष धिर बहादुर शाहीको पनि दाबी छ ।

चामुण्डा विन्द्रासैनीका निवर्तमान मेयर सुर्यबहादुर शाही, जनमोर्चाबाट एमालेमा आएका भरतबहादुर शाही, एमालेका युवा नेता योगेन्द्रबहादुर शाही समेतको प्रदेश सभामा दाबी रहेको एमाले स्रोतले बतायो ।

चामुण्डाविन्द्रसैनीमा लोकिप्रय छवि बनाएका युवा नेता शेरबहादुर रावतको समेत प्रदेश सभाको उम्मेदवारीमा दाबी छ ।

चुनाव हुने सम्भावना
११५ सदस्य रहेको संघीय निर्वाचन क्षेत्रमा मतदान हुने सम्भावना बढदै गइरहेको छ । पाँचै जना उम्मेदवारले दाबी नछोडेपछि यहाँ चुनाव हुने करिब निश्चित भएको हो । यसअघिका चुनावहरुमा समेत यो क्षेत्रमा चुनाव हुँदै आइरहेको थियो ।

यद्यपी केहि उम्मेदवारले भने सबै उम्मेदवारका नाम माथि पठाउने भन्दै माग गरेपनि नेताहरुको अडानका कारण यहाँ मतदानको विकल्प नभएको एमालेका एक युवा नेताले दाबी गरे ।


सम्बन्धित समाचार