सुर्खेत काँग्रेसका दुई समूहमा घटेन तिक्तता, स्थानीय चुनावपछि दुवै समूहबीच छलफल अवरुद्ध
सुर्खेत ।
संघ र प्रदेशको मिति नजिकिदैं जाँदा सुर्खेतमा काँग्रेस भित्र एकता सम्भव छ कि छैन भन्ने बहस सुरु हुन थालेको छ । सुर्खेतमा संस्थापन समूह र संस्थापन इतर समूहबीच अहिलेसम्म ठोस रुपमा निर्वाचनका बारेमा छलफल भइसकेको छैन ।
जिल्ला कार्यसमितिमा करिब शुन्य सहभागिता रहेको संस्थापन इतर समूह स्थानीय तहको निर्वाचन देखि नै रुष्ट छ भने स्थानीय तहको निर्वाचनमा संस्थापन समूहले उम्मेदवारी दर्ताको अन्तिम दिनको अन्तिम समयमा मात्रै छलफल गरेको गुनासो संस्थापन इतर समूहले गर्दै आइरहेको छ ।
चालिस प्रतिशत भागवण्डा आफूलाई चाहिने भनेर माग गरेको संस्थापन इतर समूहलाई संस्थापन समूहले नदिदा स्थानीय तहको निर्वाचनमा संस्थापन इतर समूहका कोही पनि नेता कार्यकर्ता उम्मेदवार बनेका थिएनन् । स्थानीय तहको निर्वाचनको समय देखिको दुइ समूहको तिक्तता अझै कम नभइसकेको पाइएको छ ।
सुर्खेतमा भएको स्थानीय तहको निर्वाचनमा असहयोग गरेको भन्दै संस्थापन इतर समूहका ६ सय भन्दा बढि नेता कार्यकर्तालाई संस्थापन समूहले स्पष्टिकरण सोधेपछि दुवै पक्षको दुरि थप बढेको छ । यस्तो दुरि बढेको समयमा काँग्रेसका दुवै खेमा मिल्लान कि नमिल्लान भन्ने चर्चाको विषय बन्दै गइरहेको छ ।
नेपाली काँग्रेस सुर्खेतका पूर्व जिल्ला सभापति कमलराज रेग्मी हालसम्म दुवै पक्षबीच छलफल सुरु नै नभएको बताउँछन् ।
गठबन्धनको सिट भागवण्डा नभइसकेकाले पनि दुवै समूहबीच छलफल नै हुन नसकेको आशंका उनको छ । ‘सुर्खेतमा संस्थापन पक्षको नेतृत्वमा रहेकाहरुले छलफलको वातावरण बनाउन आवश्यक छ । दुवै पक्षबीच सहमति भएको खण्डमा मात्रै सुर्खेतमा चुनाव जित्न सकिन्छ अन्यथा चुनाव जित्न गाह्रो हुने देखिएको छ ।’ उनी भन्छन्, ‘स्थानीय तहको जस्तो एकलौटी रुपमा संस्थापन पक्ष हिडेको खण्डमा फेरि पनि पार्टीलाई नोक्सान हुने देखेको छु ।’
यता, संस्थापन समूहका नेता जिल्ला सभापति खड्क पोखरेलले पनि अहिलेसम्म दुवै समूहबीच कुनै छलफल नभएको स्वीकार गरे ।
‘अहिलेसम्म हामीबिच बसाई भएको छैन । अबको केहि दिनमा हाम्रो बसाई हुन्छ ।’ उनले भने, ‘हामी सबै मिलेरै चुनावमा होमिन्छौं ।’
पहिलोप्रेस
४ भाद्र २०७९, शनिबार १०:१५