Loading... आजः ४ पुष २०८१, बिहीबार

दुर्गममा शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक विद्यार्थी परिषद्

सुर्खेत
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दुर्गम तथा हिमाली क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै आएको छ । परिषद्ले सेवा कार्यअन्तर्गत कर्णालीका हुम्ला, डोल्पा र मुगुका अति विकट क्षेत्रका विद्यार्थीलाई पनि शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ ।

ती जिल्लाहरुमा झोला, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली शब्दकोष लगायतका शैक्षिक सामग्री वितरण गरिने भएको हो ।

यतिबेला पूर्वी पहाडी जिल्लाहरुमा शैक्षिक सामग्री वितरण अभियान चलिरहेको प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने बताए ।

उनका अनुसार सोही अभियान अन्तर्गत आइतवार सिन्धोपाल्चोकको बाह्रबिसे र सोमवार दोलखाको भिमेश्वरका विद्यार्थीलाई पाठ्य सामग्रीहरु प्रदान गरिएको छ ।

बाह्रबिसे नगरपालिकामा रहेको शारदा माध्यमिक विद्यालय र भिमेश्वर नगरपालिकाको कालिन्चोक माध्यमिक विद्यालयमा अध्ययनरत सयौँ विद्यार्थीलाई शैक्षिक सामग्री दिइएको महासचिव न्यौपानेले जनाए । सिन्धोपाल्चोकमा कक्षा १०, ११, र १२ का गरी दुई सय ९३ तथा दोलखामा कक्षा ११ र १२ का दुई सय १७ विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।

हिमाली ११ मध्ये बाँकी नौ वटा जिल्लामा शैक्षिक सामग्री वितरणको तयारी भइरहेको छ । रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा सामग्री वितरणको तयारी गरिएको परिषद्ले जनाएको छ । ती जिल्लाहरुमा केही दिनमा शैक्षिक सामग्री बाँडिदै छ । परिषद्ले विगत २७ वर्षदेखि विद्यार्थीहरुको शैक्षिक अवस्थामा सुधार ल्याउन निरन्तर विविध सेवा कार्यहरु गर्दै आएको छ ।

यसलाई निरन्तरता दिने क्रममा यो पटक पनि ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय नागरिक र भारत सरकारबाट प्राप्त भएको शैक्षिक सामग्री वितरण गर्न थालिएको परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल बताउँछन् ।

परिषद्ले सम्बन्धित विद्यालय, स्थानीय सरकार र सरोकारवालसँगको समन्वयमा विद्यार्थीलाई सहयोग गर्दै आएको छ । वि.सं. २०५२ सालमा स्थापना गरिएको प्राज्ञिक विद्यार्थी परिषद्ले विभिन्न तह र क्षेत्रका शिक्षण संस्था तथा व्यक्तिहरुहरुसँग हातेमालो गरी शैक्षिक तथा सामाजिक अभियानहरु सञ्चालन गरिरहेको छ ।

 


सम्बन्धित समाचार