Loading... आजः ३ मंसिर २०८१, सोमबार

माओवादीबाट प्रतिनिधिसभामा सिफारिस भएका मल्लका यस्ता छन प्राथमिकता


अहिले नेपालका राजनीतिक दलहरुले मंसिर चार गते हुने निर्वाचनका लागि धमाधम उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । सुर्खेतमा नेपाली काँग्रेस, माओवादी, एमाले लगायतका दलहरुले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । दुइ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा नेकपा माओवादी केन्द्रबाट निर्वाचन क्षेत्र नम्बर दुई प्रतिनिधि सभातर्फ झकबहादुर मल्लको एकल सिफारिस भएको छ् । यद्यपी सत्तारुढ गठबन्धन दलहरुबीच यो क्षेत्र कसको भागमा पर्ने हो भन्ने टुंगो लागिसकेको छैन ।

हामीले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस भएका जिल्ला इन्चार्ज मल्लसँग उनको उम्मेदवारीको कारण, पाँच वर्षे प्राथमिकता लगायतका बारेमा प्रश्न सोधेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सारसंक्षेपः

तपाईको उम्मेदवारी के का लागि हो ?
मेरो उम्मेद्बारी विशेष गरी दुइटा कामको लागि हो । पहिलो, नेपाली जनताले आँसु,रगत र पसिना बगाएर प्राप्त गरेको वर्तमानका उपलब्धिलाई रक्षा र विकास गर्न मद्दत गर्ने । दोस्रो, राज्यको पहुँचबाट टाढा भएर अशिक्षा,गरिबी र बेरोजगारीका समस्यासँग लडिरहेका सुर्खेती जनताको विकास र समृद्धिका लागि केही काम गर्ने ।

तपाई विजेता भएपछि के गर्नुहुन्छ ?
माथि भनिएजस्तै राष्ट्र र राष्ट्रियताको रक्षाका निम्ति अहो रात्र खटिरहने साथै जनताका विकास र सम्वृद्धिका योजनामा संघीय सरकारको पहलकदमी वृद्धि गर्ने । आफ्नै जमिनमाथि स्वामित्व नभएका भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने । स्वास्थ्य, शिक्षा, सुरक्षा, विद्युतीकरण, सञ्चार, सडक, खानेपानी आदि क्षेत्रमा सक्रियतापूर्वक काम गर्न लागिपर्ने छु । उद्योगधन्दा र कलकारखानाको विकासका लागि तीव्रतामा पहल गर्नेछु । जसले गर्दा यो क्षेत्रमा रहेका लाखौं युवाहरुले रोजगारी प्राप्त गर्नेछन् ।

तपाईंका पाँचवर्षे प्राथमिकता के के हुन् ?
१–हाम्रो निर्वाचन क्षेत्रमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालय र यसको क्षमता र गुणस्तर वृद्धि गर्दै संसारका उत्कृष्ट विश्वबिद्यालयको स्तरमा विकास गर्न कोसिस गर्ने । जसले गर्दा आफ्नै ठाउँमा बसेर संसारको उत्कृष्ट शिक्षा हासिल गर्न सकियोस् । साथै सरकारी र सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा समेत विशेष योजनाका साथ लागिपर्ने ।

२– माथिल्लो कर्णाली, वेतान कर्णाली जस्ता ठूला जलविद्युत आयोजना सम्पन्न गर्नका लागि पहल गर्ने । सिमेन्ट उद्योग स्थापना र संचालनका लागि पहल गर्ने ।

३– बिरेन्द्रनगर लाई आधुनिक प्रादेशिक राजधानीको रुपमा विकास गर्न खानेपानी, ढल व्यवस्थापन, सहज विद्युत आपूर्ति, चक्रपथ निर्माण आदि कामलाई तिव्रता दिने । गुणस्तरीय स्वास्थ्य सेवा र जनशक्ति उत्पादनका लागि मेडिकल कलेजको स्थापना गर्न कोसिस गर्ने ।

४– मदन भण्डारी राजमार्गलाई तत्काल स्तरोन्नती गरी कालोपत्रे गर्ने काम सम्पन्न गर्न पहल गर्ने । साथै रत्न राजमार्गको स्तरउन्नती गरी चार लेनको सडक बनाउन पहल गर्ने ।

५– सिंचाईको व्यवस्था गरी कृषि क्षेत्रमा विकासको लागि पहल गर्ने ।

६– बुलबुले, काँक्रेविहार, गढी, बराहताल, जाजुरा दह, भेरी ¥याफ्टिङ आदि ठाउँको पर्यटन प्रवर्द्धनमा विशेष योगदान गर्ने ।

७– विकास निर्माणका सम्पूर्ण काममा संघ, प्रदेश र स्थानीय तहको समन्वय गर्न भूमिका निर्वाह गर्ने ।

विगतमा तपाईले आफ्नो निर्वाचन क्षेत्रमा के कस्ता काम गर्नुभयो ?
माथि उल्लेखित कामका लागि आफ्नो ठाउँबाट निरन्तर पहल गर्ने काम गरियो । अब पहिलोपटक निर्वाचित भएर ती कामका लागि संस्थागत र जिम्मेवार पहल गर्नेछु ।


सम्बन्धित समाचार