दैलेखका सिडिओ प्याकुरेलले लुकाए गुराँस घटनाको प्रतिवेदन
सुर्खेत ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले गुराँस गाउँपालिकामा गत असार अन्तिम साता भएको तोडफोड घटनाको प्रतिवेदन लुकाएका छन् ।
दैलेखको गुराँस गाउँपालिकामा तोडफोड र गोली चलेपछि दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालको संयोजकत्वमा छानविन समिति समेत गठन गरेको थियो ।
पालिकाले करार कर्मचारी हटाएको विषयलाई लिएर काँग्रेसका जिल्ला सचिव खेमराज ओलीको नेतृत्वमा भएको आन्दोलनमा झडप भएको थियो ।
प्रदर्शनका क्रममा पालिकाको भवनमा तोडफोड गरेपछि प्रहरीले गोली चलाएको थियो । घटनामा प्रहरीतर्फ पाँच जना र प्रदर्शनकारीतर्फ दुई जना घाइते भएका थिए ।
यहीँ विषयलाई लिएर दैलेखमा बसेको सर्वदलिय बैठकले छानविन गर्न समिति गठन गरेको थियो ।
उक्त समितिलाई १५ दिनको म्याद दिइएको थियो भने संयोजक नेपालले समयावधी भित्रै प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाइसकिएको बताए ।
‘हामीले हाम्रो तर्फबाट गर्ने काम सकेर प्रतिवेदन बुझाइसकेका छौं । उक्त प्रतिवेदनमा के छ भन्ने कुरा मैले खुलाउन मिल्दैन । प्रमुख जिल्ला अधिकारीलाई सोध्न सक्नुहुन्छ ।’ ज्ञानमणिले भने ।
यता, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कर्मचारीको व्यवस्थापन भएपछि प्रतिवेदन सार्वजनिक गर्ने बताए ।
‘प्रतिवेदन समयमै आइसकेको छ । अबको केहि दिनमा हामी सार्वजनिक गर्छौं ।’ उनले भने, ‘जिल्लाको शान्ति सुव्यवस्थालाई ख्याल गरेर प्रतिवेदन सार्वजनिक गर्छु ।’ यद्यपी उनको सरुवा भने भइसकेको छ ।
‘दोषी जो सुकै भएपनि कारवाही गर्छौं । सार्वजनिक सम्पतीमा तोडफोड गर्नु गैर कानूनी हो ।’ उनले भनेका थिए, ‘त्यसकालागि छानविन समितिको प्रतिबेदन अनुसार हामी कारवाही गर्छौं ।’
‘यो अराजक काम हो । यसलाई कुनै हालतमा पनि स्वीकार्य मान्न सकिदैन ।’ उनले थपेका थिए, ‘यस्ता गैरजिम्मेवार काम गर्नेहरुलाई कानून अनुसार सजाय हुन्छ । यसमा तपाई हामी ढुक्क हाऔं ।’ उनले भने, ‘यो वा त्यो बहानामा कानून हातमा लिनेलाई कानून बमोजिम कारवाही हुन्छ ।’
उनले यस्तो भनेको दुई महिना वित्दा समेत छानविन प्रतिवेदन न त सार्वजनिक गरेका छन्, न त गाउँपालिकालाई कुनै परिपत्रै पठाएका छन् । प्रमुख जिल्ला अधिकारी प्याकुरेल काँग्रेसका ठूला नेता मुछिएका कारण उनीहरुलाई जोगाउन लागि परेको स्थानीयले आरोप लगाएका छन् ।
गाउँपालिकाका अध्यक्ष टोप बहादुर विसीले प्रमुख जिल्ला अधिकारी प्याकुरेलले हालसम्म पनि प्रतिवेदन सार्वजनिक नगरेको बताए । ‘घटना भएको दुइ सातामा नै प्रतिवेदन सार्वजनिक गर्ने कुरा सिडओले गरेका थिए ।’ उनले पहिलोप्रेससँग भने, ‘तर अहिलेसम्म प्रतिवेदन नै सार्वजनिक नगरिनु दुःखद हो । कानूनी राज्यमा सार्वजनिक सम्पतीमा हानी नोक्सानी पु¥याउनेलाई कानूनी कारवाही गर्ने, अदालत जाने बाटो समेत सिडिओका कारण बन्द भएको छ ।’
उनले प्रतिवेदनमा के कुरा छ भन्ने कुरा पनि आफूलाई जानकारी नभएको बताए ।
के भएको हो घटना ?
दैलेखको गुराँस गाउँपालिकामा करार कर्मचारी हटाउने विषयलाई लिएर भएको आन्दोलनले राजनीतिक रूप लिएको थियो । नेपाली कांग्रेस दैलेखका पार्टी सचिव एवं पूर्वगाउँपालिका अध्यक्ष खेमराज ओली र नेपाली कांग्रेस दैलेखका पूर्वपार्टी सभापति कृष्णकुमार बिसीले सुनियोजित रूपमा करार कर्मचारीहरूलाई उचालेर गाउँपालिका तोडफोडसँगै आगजनी गर्ने प्रयास गरेको गाउँपालिकाको आरोप थियो ।
पालिकाको दशौँ गाउँसभाबाट गरिएको निर्णयको विषयमा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालालगायत आन्दोलनरत कर्मचारी सबैको रोहवरमा वार्ता गरी करारका कर्मचारी हटाउने अन्तिम निष्कर्षमा पुगेको गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीको भनाइ थियो ।
अन्तिम निष्कर्षमा पुगेर कार्यालयबाट बाहिर निस्कने क्रममा बाहिर रहेका करार कर्मचारीहरूलाई खेमराज ओलीले एक्कासि ढुंगामुँढा गर्न लगाएको अध्यक्ष बिसीको आरोप छ ।
अध्यक्ष बिसीले सम्बन्धित सबै पक्षसँग छलफल गरी निष्कर्षमा पुगिसकेको विषयलाई कांग्रेसका स्थानीय नेताले पुनः विवादित बनाएको बताए । ‘कांग्रेस नेताहरूले निर्णय मान्दैनौ भन्दै आन्दोलन उग्र बनाउने अभियान थाल्नुभयो । प्रहरीले सामान्य रूपमा सिठी फुकेर कार्यालय परिसरबाट बाहिर निकाल्दै थियो । एकाएक केही नेताहरूको निर्देशनमा पालिकामा ढुंगामुढा भयो, नयाँ बनाएको हेल्प डेस्क फुटालियो, स्तनपान कक्ष तोडफोड भयो, अध्यक्ष र उपाध्यक्षको कार्यालयमा धावा बोलियो, तोडफोड गरियो । विगतमा गल्ती गरेका फाइलहरूसमेत जलाउने अभियान रहेछ,’ अध्यक्ष बिसीले भने,‘ लेखापाललाई कार्यालयमा थुनियो। हामीलाई पानी पनि खान दिइएन, सहायक प्रमुख जिल्ला अधिकारीमाथि हातपात भयो । नियोजित रूपमा कांग्रेसका नेताहरूले कार्यकर्ताहरू परिचालन गरेर व्यक्ति हत्या गर्नेसम्मका प्रयास गरिएको रहेछ । हामी असुरक्षित छौँ ।’
‘सहायक प्रजिअको सुरक्षाका लागि हवाई फायर’
वार्ताका लागि गएका सहायक प्रमुख जिल्ला अधिकारीलाई समेत गाउँपालिकाको कार्यकक्षभित्रै राखेर ढुंगामुढासँगै जलाउनेसम्मको अवस्था आएपछि हवाई फायर खोलिएको अध्यक्ष बिसीले बताए । उनका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग आफू असुरक्षित भएको भन्दै रिपोर्ट गरेका थिए । अवस्था जटिल भएपछि फायर खोल्न प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आदेश दिएका थिए ।
कार्यालय परिसरमा ढुंगामुढा गर्दै निर्वाचित जनप्रतिनिधि र प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि रवरको गोली चलाएको प्रहरीले जनाएको छ ।
पहिलोप्रेस
३१ भाद्र २०७९, शुक्रबार ०९:०४