सम्बन्धको कसौटी VS सुर्खेत काँग्रेस, यस्तो छ राम कहानी
सुर्खेत ।
पछिल्लो समयमा सुर्खेतमा आगामी मंसिर चार गतेपछि हुने संघ र प्रदेश निर्वाचनका बारेमा नेपाली काँग्रेसबीच तीव्र मतान्तर बढन थालेको छ ।
काँग्रेसले पाउने संघतर्फ टिकट करिब निश्चित भइसकेको छ भने संघ निर्वाचन क्षेत्र नम्बर एकको ‘क’ प्रदेश सभा क्षेत्रमा पनि नेपाली काँग्रेस जिल्ला सभापति खड्क पोखरेलले टिकट पाउने निश्चित जस्तै छ ।
तर अघिल्लो पटकको निर्वाचनमा देश भरिबाटै सबैभन्दा कम मतान्तरले पराजित भएका टेकहादुर सिंहले आफूले टिकट पाउनुपर्छ भन्दै लविङ गर्न थालेका छन् ।
टेकबहादुर सिंहले टिकट नपाएको खण्डमा त्यसले प्रदेश र संघलाई समेत असर गर्न सक्ने आँकलन काँग्रेस वृत्तमा चल्न थालेको छ ।
तर निर्वाचन नम्बर दुई ‘क’ मा भने नौ जनाको दाबी परेपनि दुइ जनाबीच टिकट कसले ल्याउने भन्ने तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
नेपाली काँग्रेसका निवर्तमान सभापति कमलराज रेग्मी संस्थापन ईतर समूहका नेता हुन । उनी प्रदेश सभा चुनाव लडन तयारी अवस्थामा छन् ।
निवर्तमान नगरप्रमुख एवम काँग्रेस जिल्ला सचिव देवकुमार सुवेदी पनि प्रदेश सभा चुनाव लडने दौडमा संस्थापन समूहबाट सबैभन्दा अघि छन् । सुवेदीको टिममा अन्य सात जनाको दाबी छ भने रेग्मीको टिमबाट उनी एक्ला उम्मेदवार हुन ।
२०७४ सालको निर्वाचनमा पराजित बनेका रेग्मी आफू ‘घाईते’ भएको भन्दै टिकट आफूले पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् भने सुवेदीले आफूले नगरमा राम्रो काम गरेकोले अवसर पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् ।
काँग्रेस कार्यकर्ताका यस्ता छन् आरोप सुवेदीमाथि
देवकुमार सुवेदी विद्यार्थी राजनीति देखि नै चुनावमा अपराजित व्यक्तिको रुपमा चिनिन्छन् । उनले अहिलेसम्म जति पनि चुनाव लडेका छन्, त्यसमा सहजै जीत हात पारेका छन् तर उनी जतिपटक विभिन्न चुनावमा जिते, त्यतिपटक आफू मात्रै जिते ।
टिमको लागि केहि गर्न नसक्ने आरोप उनीमाथि लाग्दै आइरहेको छ । अझ भन्ने हो भने स्थानीय तहको निर्वाचनमा जानकी सिंह पराजित हुँदा वीरेन्द्रनगरमा काँग्रेस अल्पमतमा समेत परेको थियो ।
उनी वीरेन्द्रनगरको मेयर हुँदा सुर्खेत विमानस्थल विस्तारमा अवरोध गराएको, खोलानालाको व्यापक दोहन भएकाे अाराेप छ । यस्तै खुलामञ्च मासेर गुरुयोजना विपरित पार्क गराउने निर्णय गरेका थिए, यद्यपी यो निर्णय भने अदालतले रोकेको छ ।
सुर्खेतको बसपार्कको टेण्डर प्रक्रिया विवादित बन्दा नगरपालिकालाई करोडौं रुपैंया नोक्सान भएको छ । हाल यो मुद्दा नगरपालिकाले नै अदालतमा लगेको छ ।
वीरेन्द्रनगरको मुटु घण्टाघरलाई टेण्डर लगाउने कार्य, घण्टाघरको पुर्व तर्फको जग्गा दिनेश पार्कको नाममा विधी र प्रक्रिया मिचेर दिने निर्णय साथै काँक्रेविहार संरक्षण क्षेत्रको जग्गा दलालसँगको मिलेमतोमा ५० विगाहा जमिन बाहिर छोडेर पर्खाल लगाउने निर्णय जस्ता विवादित निर्णयहरु उनको पालामा भएको काँग्रेसकै नेताहरु बताउँछन् ।
रेग्मी र सुवेदीको उतारचढावपूर्ण सम्वन्धको रामकहानी
उनलाई राजनीतिक धारमा रुपान्तरण गर्न कमलराज रेग्मीको ठूलो हात रहेको काँग्रेस वृत्तमा हल्ला चल्न थालेको छ ।
चौंधौं महाधिवेशन अघि सुवेदी र रेग्मी एउटै समूहमा रहेका थिए । चौंधौं महाधिवेशन आउन केहि महिना मात्रै बाँकी रहँदा सुवेदी संस्थापन समुहमा लागे । त्यो भन्दा अगाडी यी दुइ जना बीच नङ र मासुको जस्तो सम्वन्ध रहेको निकटस्थहरु बताउँछन् ।
सुवेदी विद्यार्थी राजनीति गर्ने समयमा तत्कालिन निर्वाचन क्षेत्र नम्बर तीनमा पर्ने उत्तरगंगा गाविसमा बस्ने गर्थे । उनी सुरुमा खड्का समूहमा नै थिए । उनी उक्त सूहमा रहेपछि उक्त निर्वाचन क्षेत्रमा स्वर्गीय तप्त बहादुर विष्ट, टोपबहादुर रावतलगायतसँग उनको प्रतिस्पर्धा हुने गथ्र्यो । उनलाई सो समूहले आफ्नो टिममा जहिल्यै ‘कर्नर’ मा पार्ने काम गर्ने गरेका थिए ।
काँग्रेसका एक नेताका अनुसार उर्जावान यूवा राजनीतिमा सक्रियताका साथ लागेको तर अवसर नपाउने सम्भावना भएपछि काँग्रेस नेता कमलराज रेग्मीले उनलाई तत्कालिन निर्वाचन क्षेत्र नम्बर दुईको भैरवस्थानमा नामावली सार्न लगाए ।
उनको नाम दुई नम्बरमा आएपछि रेग्मीले विद्यार्थी राजनीतिमा स्थापित मात्रै गरेनन्, नगर सभापति समेत बनाए । रेग्मीले नगरसभापति बनाइसकेपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा आफ्नै टिममा घमासान परेपनि सुवेदीलाई नै उम्मेदवारको रुपमा रोजे ।
प्रखर युवा भएको, जोश जाँगर भएको युवा सुवेदी रहेकाले उनले सहजै जीत निकाल्नेमा रेग्मी आशावादी थिए । उनै रेग्मी सुवेदीको चुनावी कमाण्डर बन्दै उनलाई विजेता बनाउन कस्सिए ।
तर अहिले भने उनै सुवेदी रेग्मीका कडा प्रतिस्पर्धी देखिएका छन् । उनी संस्थापन समुहमा लागेपछि दुवै नेताहरुको सम्वन्ध समेत चिसिन थालेको काँग्रेस नेताहरु स्वीकार्छन ।
१४ औं अधिवेशनमा विधि र प्रक्रिया मिलाएर फाराम भरेका सात सय ४ जनाको क्रियाशील सदस्यता खारेज गरेको, गएको स्थानीय तहको निर्वाचनमा आफै पराजित समेत भएका सदस्यहरु समेत गरि ६ सय भन्दा बढि नेता कार्यकर्तालाई उनकै डिजाईनमा स्पष्टिकरण समेत सुर्खेत काँगेसको अनुशासन समितिमार्फत सोधेका कारण उनलाई काँग्रेस भित्रै कमजोर उम्मेदवारको रुपमा लिने गरिएको छ ।
‘खासमा सुवेदीले रेग्मीलाई यसपटक मैदान खाली गरिदिनु पथ्र्यो ।’
काँग्रेसका एक नेताले भने, ‘रेग्मीले सुवेदीलाई स्थापित गर्न गुन जसरी लगाएका थिए, सोही गुनको पैंचो तिर्न उनले मैदान खाली गरिदिएको भए समस्या नै हुन्थेन । नारायण कोइरालाले रेग्मीको पक्षमा सर्मथन गरे जसरी सुवेदीले पनि ठूलो मुटु गरेर उनलाई सर्मथन जनाउन सक्नुपथ्र्यो ।’
एकै व्यक्ति बारम्बार अवसर लिइरहने अवस्था पनि राम्रो नहुने ती नेताको भनाई छ । ‘उहाँ केहि महिना अघिसम्म नगरप्रमुखको रुपमा हुनुहुन्थ्यो ।’ उनी भन्छन्, ‘रेग्मीको भन्दा राजनीतिमा सुवेदीको उज्ज्वल भविष्य छ । उहाँले पाँच वर्ष पर्खदैंमा आकाश खस्ने थिएन ।’
१६ वडामा चुनाव लडदा सुवेदीले १४ हजार ४०५ मत ल्याएका थिए भने १४ वडाबाट रेग्मीले १५ हजार ९४७ मत ल्याएका थिए । यसरी मतको हिसाब निकाल्दा रेग्मी नै सबैभन्दा बलियो देखिएको उनी बताउँछन् ।
ती नेताले यामलाललाई कडा टक्कर दिने नेता रेग्मी नै भएको दाबी समेत गरे ।
‘उहाँ एकल निर्णय कहिल्यै गर्नुहुन्न । पार्टी सभापति हुँदा उहाँले सबै टिमर्ला मिलाएर लिएकै कारण ६ पालिकामा जीत हात लागेको हो । जिल्ला समन्वय समितिमा एकलौटी जीत हात पारेको, सुर्खेतको सम्पूर्ण भुगोल बुझेको नेता रेग्मी नै हुन । उनको विकल्प काँग्रेसले खोज्न हुदैन ।’
चार सिटमा दुई दुई सिट बाडनुपर्ने संस्थापन ईतरको माग
सत्तारुढ गठबन्धनका कारण सुर्खेतमा काँग्रेसले दुई संघ तथा दुई सिट प्रदेशमा पाउने करिब पक्का भइसकेको छ । यसा एक नम्बर क्षेत्रबाट संघमा पूर्णबहादुर खड्का र प्रदेशमा खड्क पोखरेलले टिकट पाउने निश्चिम भइसकेको काँग्रेस नेताहरु दाबी गर्दै आइरहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर दुइमा हृदयराम थानीले टिकट पाउने निश्चित जस्तै भइसकेको अवस्थामा यहाँ संस्थापन इतर समूहबाटै टिकट पाउनुपर्ने र त्यस्तो हुँदा सुर्खेतमा एमालेलाई क्लीन स्वीप गर्न सकिने संस्थापन इतर समूहका नेताहरुको भनाई छ ।
पहिलोप्रेस
२ आश्विन २०७९, आईतवार १२:०१