खाद्यान्नमा अखाद्य मिसाउनेलाई कडा कारवाही गर्नुसः प्रजिअ रिजाल
सुर्खेत ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले खाद्यान्नमा अखाद्य वस्तु मिसाउने जो कोहीलाई पनि कानूनी कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।
वीरेन्द्रनगरमा आज खाद्य प्रविधि तथा गुण नियन्त्रकको कार्यालयले आयोजना गरेको समिक्षा गोष्ठीलाई सम्वोधन गर्दै उनले नागरिकको स्वास्थ्यमा खेलार्ची गर्न कसैलाई छुट नभएको बताए ।
‘दुध, तेल र पानीमा विशेष ध्इान दिनुहोस । खाद्यान्नमा अखाद्य पदार्थ मिसाउनेलाई कानूनी कारवाही गर्न पछि नहटनुहोस ।’ उनले भने, ‘जसले गलत गर्छ उसलाई सजाय दिनैपर्छ ।’
उनले अहिलेपनि नागरिकमा खाद्यवस्तुको म्याद हेर्ने चेतना अभिवृद्धि भइ नसकेको बताउँदै जनचेतना अभिवृद्धि गर्नेतर्फ सबै अग्रसर हुनुपर्नेमा जोड दिए ।
‘हामी खानेकुरा खाइसकेपछि म्याद हेर्ने गर्दछौं । दुरदराजका वस्तीमा त म्याद हेर्ने चलन नै पुग्न सकेको छैन ।’ उनले भने, ‘त्यसका लागि जनचेतनामूलक अभियान सुरु गर्न आवश्यक छ । त्यतातर्फ तपाई हामी सबै लागौं ।’
कार्यालय प्रमुख भेषबहादुर थापाले विगतको तुलनामा सुर्खेतमा खाद्यान्न बारेमा नागरिक सचेत बन्दै गइरहेको बताउँदै थोरै जनशक्ति भएपनि अनुगमनका कार्यमा आफूहरु खटिरहेको बताएका थिए ।
पहिलोप्रेस
१७ कार्तिक २०७९, बिहीबार १६:०७