Loading... आजः ४ पुष २०८१, बिहीबार

कालिकोटका हरेक वस्तीमा विजुली पु¥याउँछु, बाटो स्तरोन्नती गर्छुः पूर्व मुख्यमन्त्री शाही


सुर्खेत ।
संघ तथा प्रदेशतर्फका लागि निर्वाचन आयोगले मंसिर चार गते तोकेको निर्वाचन आउन अब दुई साता मात्रै बाँकी छ । यो दुई साता बाँकी रहँदा कर्णालीका जनताले आगामी पाँच वर्षका लागि आफ्नो क्षेत्रको विकास र रुपान्तरण गर्नका लागि सहि उम्मेदवार छनौट गर्नेछन् ।

कर्णालीका जनताले बाटो, विजुली, खानेपानी जस्ता भौतिक पूर्वाधारको विकास मागिरहेका छन् । रोग, भोक, विकासबाट पछि परेका कर्णालीका जनताका लागि अन्य भन्दा पनि बढि भौतिक पूर्वाधारको विकास कसले गर्नसक्छ भन्ने प्रश्न नै अहिले मुख्य प्रश्नको रुपमा रहँदै आएको छ ।

यहि पेरिफेरिमा रहेर पहिलोप्रेसले कालिकोटबाट प्रतिनिधि सभातर्फ गठबन्धनका साझा उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरिरहेका नेकपा माओवादी केन्द्रका नेता, पूर्व मुख्यमन्त्री एवम पूर्व उर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग विभिन्न विषयमा कुराकानी गरेको छ । सोही कुराकानीको सारसंक्षेपः


२०७० देखि निरन्तर सांसदको भूमिकामा आउनुभयो । कर्णालीको मुख्यमन्त्री समेत भइसक्नु भयो । यसपटक अरुलाई पालो दिनुको साटो तपाई फेरि प्रतिनिधि सभामा उम्मेदवार बन्नु भयो ? तपाईको उम्मेदवारी के का लागि हो र किन ?
हेर्नुहोस, कालिकोट जिल्ला भौगोलिक रुपमा अत्यन्तै विकट जिल्ला हो । म सांसद देखि मन्त्री तथा मुख्यमन्त्री बन्नु पूर्व कालिकोटका सडकको अवस्था दयनीय थियो । यहाँ कर्णाली राजमार्गको रुपमा मात्रै यहाँका जनताले सडक देखेको अवस्था थियो । म सांसद भएदेखि अहिलेसम्मको अवस्था हेर्नुहोस, कालिकोटको कुनैपनि वडा त्यस्तो छैन जहाँ सडक पूर्वाधार निर्माणको काम नभएको होस । भलै ती सडकहरु ग्रावेल गर्न नसकिएको होला तरपनि गाउँमा एम्बुलेन्स जाने वातावरण कालिकोटमा तयार भएको छ ।

सडक मात्रै होइन, शिक्षा क्षेत्रमा हेर्नुभयो भनेपनि भौतिक पूर्वाधारको विकास पर्याप्त भएको छ । अधिकांश माविहरुमा पक्की भवनहरु बनेका छन् । शिक्षाको गुणस्तरमा वृद्धि भएको छ । जिल्ला अस्पतालको सुदृढिकरण भएको छ । नागरिकको स्वास्थ्य क्षेत्रमा पहुँच पुगेको छ । सुत्केरी हुन नसकेका महिलाहरुको प्रदेश सरकारमार्फत उद्धार गरिएको छ ।

अर्को कुरा, म मुख्यमन्त्री हुँदा कर्णालीका सबै नागरिकको प्राकृतिक दुर्घटना विमा गरिएको छ । यसबाट यहाँका ८० भन्दा बढि पीडित नागरिकले राहत पाइसकेका छन् । कर्णाली भरि झण्डै दुइ सय घरपविार यसबाट लाभान्वित भएका छन् ।

कालिकोटमै नमूना बस्तिको विकास भएको छ । हामीले पलाता आगलागीका पीडितका लागि बस्ती बनाइदिएका छौं । अर्थात खानेपानी देखि कृषि क्षेत्रमा हामीले पर्याप्त विकास गरेका छौं ।

समाजमा हरेक क्षेत्रको विकास गरिरहँदा अझै पनि कालिकोटका जनताको चाहना बोजिमको विकास गर्न, यहाँका जनताको आयस्तर बढाउन, परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अग्रसर बनाउन र कालिकोटका सबै नागरिकको घरमा विजुली बाल्ने सपना पुरा गर्न म प्रतिनिधि सभामा उम्मेदवार बनेको हो ।

तपाईले भनेका यी गतिविधिहरु त प्रदेशको मुख्यमन्त्री हुँदा नै गर्न सकिन्थ्यो होला नी ?

प्रदेश सरकारको मुख्यमन्त्री म हुँदै गर्दा मुख्यमन्त्री निवासमा एक कार्यालयसहयोगी मात्रै थिईन । उनैले मलाई स्वागत गरेकी थिईन ।

त्यसपछि हामीले मन्त्रालय व्यवस्थापन गर्ने देखि प्रदेश संरचनालाई बलियो बनाउने गरि कर्मचारी संरचना खडा गर्ने, जिल्ला जिल्लामा कार्यालयहरु खोल्ने, विकासे गतिविधि आफ्नै संरचनामार्फत कार्यान्वयन गर्ने जस्ता व्यवस्था बनाउनै हामीलाई झण्डै दुइ वर्ष लाग्यो ।

त्यसपछि कोरोना महामारीले हामीलाई सोचेअनुसारको काम गर्न दिएन यद्यपी कोरोना विरुद्ध हामी लडन सफल भयौं । प्रदेश अस्पताल मात्रै होइन, जिल्ला अस्पतालहरुको क्षमता अभिवृद्धि गर्न सफल भयौं ।


प्रदेश सरकारले गर्न खोजे जतिको काम भने हामीले गर्न सकेनौं । यसको एकमात्र कारण भनेको संघीय सरकारले समयमै कानून निर्माण नगरेकै कारण हो ।

नयाँ भवन बनाउनुप¥यो जग्गा छैन । ठूला पूर्वाधारको क्षेत्र जस्तै कर्णाली राजमार्गमा बजेट लगानी गर्न खोज्यो कानूनले छेकिदिन्छ । अन्य संरचना निर्माणका लागि काम गर्न खोज्यो बजेट थोरै हुन्छ । यसले पनि हामीलाई समस्या पा¥यो ।

यसको मतलब यो होइन कि प्रदेशको मुख्यमन्त्री हुँदा केहि नभएको होइन । हामीले प्रदेश सरकारको जग बसाल्यौं । हरेक वडामा कम्तिमा प्रत्येक वर्ष एक करोड भन्दा बढि बजेट पठायौं ।

हजारौं जनताले रोजगारी पाए । हजारौं सिंचाई संरचना निर्माण भए । हजारौं हेक्टर जमिन जोगाउन तटबन्धनका कार्यक्रमहरु सम्पन्न भए । पर्यटकीय क्षेत्रमा करोडौं बजेट लगानी भएको छ ।

हजारौं यूवाहरु स्वरोजगारीतर्फ अग्रसर भए । शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्ता क्षेत्रमा थुप्रै काम भए ।

तरपनि कर्णाली प्रदेश सरकारसँग आन्तरिक आय कमजोर भयो । अर्बौं लाग्ने आयोजना निर्माण गर्न सरकारले सक्ने अवस्था देखिएन ।

त्यसैले अब संघ सरकारमार्फत नै कर्णालीको विकासमा महत्वपूर्ण योगदान दिन सकिन्छ भनेर नै म प्रतिनिधि सभाको उम्मेदवार बनेको हो ।

तपाई प्रतिनिधि सभाको उम्मेदवार बन्दै गर्दा तपाईको जीतको आधार के हो ?
म कालिकोटका जनताप्रति सर्मपित छु । मैले कालिकोटका लागि कति काम गरेको छु भन्ने कुरा जनतालाई थाहा छ । अब संघमा गएर कालिकोटका हरेक जनताको घरमा विजुली बाल्न, कोटवाडामा रहेको विमानस्थल संचालन गर्न, मान्म कोटबाडा केबुलकार सञ्चालन गर्न तथा अन्य विकास निर्माणका कार्य गर्न म नै सक्षम छु भन्ने कुरा कालिकोटका आमा बुवा दाजुभाई तथा दिदि बहिनीलाई राम्ररी थाहा छ ।

मेरो पार्टी, सत्तारुढ गठबन्धन र कालिकोटका विकासप्रेमी जनता नै मेरो जीतको आधार हो ।

तपाई जनताको घरदैलोमा पुगिसक्नु भएको छ । तपाईले जनतालाई के आश्वासन दिनु भएको छ उसोभए ?
हेर्नुहोस, म आश्वासन दिनेमा पर्दिन । म गर्न सकिने काम मात्रै भन्छु र सोही अनुसार काम गर्छु । मैले अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रसारण लाईन कालिकाटे ल्याउने भनेको थिएँ, त्यो पुरा भएको छ । अब हरेकको घरमा बत्ति पु¥याउँछु भनेको छु ।

सबै वडामा सडक पु¥याउने मेरो प्रतिबद्धता पुरा भएको छ अब बाह्रै महिना चल्ने सडकको रुपमा ती सडकको स्तरोन्नती गर्छु । कोटवाडा विमानस्थल सञ्चालनका लागि मुख्यमन्त्री हुँदा पहल गरिएको हो तर संघीय सरकारले चासो दिएन । अब त्यो विमानस्थल सुरु गर्छु । यस्ता धेरै विषयहरु छन् । ती विषयलाई सम्वोधन गर्न कालिकोटका जनताले मलाई मत दिनेछन् । कालिकोटलाई अब दुर्गम जिल्लाको रुपमा होइन, अवसरै अवसर भएको जिल्लाको रुपमा विकास गर्न म लाग्छु, लागेको छु ।


सम्बन्धित समाचार