सुर्खेतमा काँग्रेस माओवादीको अभूतपूर्व एकताले नयाँ तरंङ्ग, एमाले प्रदेश राजधानीमै ‘क्लीन स्वीप’ हुने खतरामा !
सुर्खेत ।
तिहार सकिएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजनीतिक माहौल एकाएक तातिन पुगेको छ । मंसिर चार गते आउन दुई सातामात्रै बाँकी रहँदा सत्तारुढ गठबन्धन र नेकपा एमाले लगयातका अन्य दलहरुले चुनावी हिसाब मिलान गर्न जोड तोडले अभियान सुरु गरिरहेका छन् ।
प्रदेशसभातर्फ सुर्खेत निर्वाचन क्षेत्र २ (क) मा वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा पर्दछन् । ६६ हजार ६२७ मतदाता रहेको यो क्षेत्रमा एमालेबाट प्रभावशाली नेता यामलाल कँडेल, कांग्रेस–माओवादीका साझा उम्मेदवार कांग्रेसका कालिप्रसाद शाक्य र नेकपा एकीकृत समाजवादीका जिल्ला इञ्चार्ज शिवप्रसाद उपाध्याय उम्मेदवार छन् ।
मुख्यमन्त्री बन्ने सपना बोकेर फेरि प्रदेश सभामा झरेका एमाले कर्णाली प्रदेश इन्चार्ज एवम स्थायी कमिटि सदस्य यामलाल कंडेल स्थानीय तहको निर्वाचनमो मत परिणाम अनुसार आफू जित्नेमा ढुक्क देखिएका छन् । स्थानीय तहको निर्वाचन भन्दा फरक तवरमा नेपाली काँग्रेस अघि बढेका कारण काँग्रेसका उम्मेदवार कालीप्रसाद शाक्य चुनावमा जित्ने सम्भावना पनि बढदै गइरहेको छ ।
यहाँ नेपाली काँग्रेसको आन्तरिक विवाद सहमतिमा टुंगिदा एमाले क्लीन स्वीप हुने खतरामा अग्रसर भएको हो ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अनुसार वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा एमालेले पाएको मत १६ हजार ३८ छ भने कांग्रेसले १५ हजार ४८४ पाएको छ ।
यद्यपि वडाको मतलाई आधार मान्ने हो भने १४ वडामध्ये ५ वडा जितेको कांग्रेससँग १६ हजार १६३ मत छ भने १० वटा वडा जितेको एमालेसँग १८ हजार ६१५ मत छ ।
यस्तै माओवादीसँग ३ हजार ५५८ मत छ । यहाँ माओवादी–कांग्रेसको मत जोड्दा १९ हजार ७२१ हुन्छ । अर्थात माओवादी र काँग्रेसका मत एकीकृत रुपमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शाक्यको पक्षमा खसेको खण्डमा यामलाल पराजित हुने देखिन्छ । हाल झण्डै एक हजार मतको मतान्तर रहेको छ ।
अर्को प्रतिस्पर्धी समाजवादीले प्रमुखमा पाएको मत भनेको ४६० मात्रै हो । यो आधारमा कांग्रेसलाई माओवादीले इमानदारितापूर्वक सहयोग गरेको खण्डमा शाक्य अगाडि आउन सक्ने देखिन्छ । किनकि स्थानीय तहको निर्वाचनमा कांग्रेसभित्र देखिएको अन्तरविरोध अहिले साम्य भएको छ । यसर्थ कँडेललाई चुनाव जित्न त्यत्ति सहज भने छैन ।
यी तीन उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कँडेलले तीन दशक अघि ०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका शाक्य र आफ्नै पूर्व उपाध्यायसँग कंडेलले प्रतिस्पर्धा गर्दैछन् । उपाध्याय–कँडेल कुनै समय एमालेभित्र कडा प्रतिस्पर्धीको रुपमा चिनिन्थे ।
उपाध्यायले ०७० मा पार्टीभित्रैबाट कँडेलविरुद्ध बागी उम्मेदवारी दिँदा जित कांग्रेसका हृदयराम थानीको पोल्टामा परेको थियो ।
२०५६ सालमा एमालेबाट उपाध्याय चुनाव लडदा मालेबाट कंडेल चुनाव लडेका थिए ।
एमालेभित्र कँडेलविरुद्ध लगातार विद्रोह गर्दै आएका उपाध्याय र तीन दशक पहिलेका प्रतिस्पर्धी शाक्यसँगको प्रतिस्पर्धा कँडेलका लागि भारी पर्ने देखिन्छ ।
तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षका कारण मुख्यमन्त्री बन्ने अवसर नपाएका कँडेल पुनः मुख्यमन्त्रीको अपेक्षासहित आफूभन्दा जुनियर नेतालाई प्रतिनिधिसभामा उठाएर आफू प्रदेशमै बसेका हुन् ।
०७४ मा वाम गठबन्धनबाट २१ हजार २८२ मत प्राप्त गरेका कँडेललाई आसन्न निर्वाचनमा एमाले विभाजन, गठबन्धन र पूर्व सहकर्मीसँगको प्रतिस्पर्धामा जितको ‘हयाट्रिक’ गर्न भने सहज छैन ।
०५१ यता कँडेल लगातार निर्वाचन लड्दै आएका छन् । ०५१ को मध्यावधि निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी एमाले विभाजनपछि मालेतिर लागे । मालेबाट ०५६ को संसदीय चुनावमा उनी पराजित हुनुप¥यो ।
पुनः पार्टी एकीकरणपछि ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका कँडेल ०७० मा आफ्ना पुराना प्रतिस्पर्धी कांग्रेसका हृदयराम थानीसँग पराजित भए ।
यसरी हेर्दा सुर्खेतमा एकल नेतृत्वको रुपमा उदाएका कंडेललाई एमालेकै सहकर्मीबाट सहयोग नपाउने सम्भावना समेत बढदै गइरहेको छ । विभिन्न चुनावमा आफूलाई अवसर नदिएको भन्दै एमालेकै केहि नेताहरु चुनावी अभियानमा कंडेलसँगै घुमिरहेको भएपनि आगामी चुनावमा कंडेललाई ‘देखाईदिने’ मुडमा रहेको एमाले निकटकै कार्यकर्ताहरु बताउँछन् ।
पहिलोप्रेस
२० कार्तिक २०७९, आईतवार १५:४६