Loading... आजः ५ पुष २०८१, शुक्रबार

देशलाई साम्राज्यवादी र विस्तारवादीहरूबाट बचाउन नेमकिपाको विजय जरुरीः गुरुङ

‘जनताले हामीलाई जस्तो जनमत दिन्छ, त्यहीँ अनुसार काम गर्छौँ । नेमकिपालाई जनताले प्रखर प्रतिपक्षको भूमिका दिँदै आएको छ । वर्तमान पुँजीवादी सरकारमा गएर जनताका सबै समस्या समाधान हुँदैन । योग्यता अनुसार काम, काम अनुसारको ज्यालाको बन्दोबस्त हुने वैज्ञानिक समाजवादी व्यवस्थामा हामी सत्तामा जानेछौँ ।’

सुर्खेत ।
प्रतिनिधिसभाको लागि दैलेख क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट एकतिस वर्षीय युवा प्रकाश गुरुङ उम्मेदवार उठेका छन् । रामपुर क्याम्पस भरतपुरबाट कृषि विषय स्नातकोत्तर अध्ययन गरेका उनी गुराँस गाउँपालिका–४ निवासी हुन् ।

भक्तपुरलाई उदाहरणीय बनाएको नेमकिपाको संसदमा उपस्थिति न्यून देखिए पनि प्रखर प्रतिपक्ष भूमिकामा देखिने गर्दछ । प्रकाश गुरुङ विद्यार्थी जीवन पनि नेमकिपाकै भातृ सङ्गठनमा रहेर राजनीति गरे । अहिले नेक्राविसंघको केन्द्रीय अध्यक्ष पनि हुन् ।

दैलेखमा नेमकिपाबाट जितेका र नेमकिपाको राम्रो छवि बनाएकाहरुले पार्टी परिवर्तन गरेको अवस्था छ । क्षेत्र नं. १ एमालेका रवीन्द्रराज शर्मा र गठबन्धनबाट नेकपा एसका अम्बर बहादुर थापा चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा नेमकिपाको रणनीति, उम्मेदवार गुरुङका एजेन्डा र दैलेखका समस्याका बारेमा गरिएको कुराकानीको सम्पादित अंशः

चुनावको प्रचार–प्रसार कसरी गर्दै हुनुहुन्छ ?
चुनावलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा प्रयोग गरिरहेका छौँ । चुनावलाई जनताको राजनीतिक चेतनास्तर उठाउने अवसरको रूपमा प्रयोग गर्दै छौँ । जनताको घर–आगन र काम गरिरहेको ठाउँमा पुगी स्थानीय र राष्ट्रिय समस्याहरू र समाधानका उपायबारे छलफल गर्दै छौँ । पार्टीको घोषणापत्र, धारणा, प्रतिबद्धता, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी दिने तथा कक्षा, कार्यक्रम, सभा सञ्चालन गर्नेछौँ ।

दैलेख क्षेत्र नं. १ मा के–कस्ता समस्याहरू छन् ?
शिक्षा र स्वास्थ्यको समस्या सबभन्दा ठूलो छ । रोजगारी, खानेपानी, विद्युत्, सडक तथा यातायातको समस्या छ । कृषिमा सिंचाई, मल, बिउ र बजारीकरणको समस्या छ ।

प्रतिनिधिसभामा यहाँको कस्तो भूमिका रहन्छ ?
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मूलतः कानुन निर्माणसँग सम्बन्धित छ । तर, धेरै उम्मेदवार र नेताहरू कानुन निर्माणको साटो विकास निर्माणका कुरा मात्र प्रचार गरेर जनताबीच भ्रम छर्दै छन् । यसरी देश र जनतालाई धोका दिनु गलत हो ।

संसद्मा मजदुर, किसान लगायत सम्पूर्ण कामदार वर्गको पक्षमा कानुन बनाउन निरन्तर सङ्घर्ष गर्नेछु । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा निःशुल्क विश्वविद्यालय शिक्षा, निःशुल्क र सुलभ स्वास्थ्य सेवा, युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था, बलात्कारीलाई फाँसीको बन्दोबस्त, विदेशमा सम्पत्ति राख्न नपाउने लगायत जनताको हितमा कानुन बनाउन भूमिका खेल्नेछु । देशघाती विधेयक, सन्धि तथा सम्झौताहरू संसद्बाट पारित हुनबाट रोक्न लागिपर्नेछु ।

दैलेखी जनताले जिताउँदा धोका पाउने हुन् की ?
राजनीति निःस्वार्थरूपमा देश र जनताका लागि गरिने सेवा हो । यहीँ शिक्षाबाट प्रेरित भएर राजनीतिमा आएको छु । राजनीतिलाई पेशा तथा व्यवसाय बनाउनु हुँदैन । नाफाका लागि राजनीति होइन, व्यापार–व्यवसाय गर्नुपर्छ । व्यक्तिगत स्वार्थ राखेर राजनीतिमा आउनेहरू एक–दुई चुनाव जिते पनि जनताको मन जित्न सक्दैनन् । सामूहिक हितका लागि चुनावमा उठेको छु । जनताले धोका नपाउनेमा पूर्ण विश्वास दिलाउँछु ।

किन नेमकिपा जहिले पनि प्रतिपक्षमा मात्र बस्छ ?
जनताले हामीलाई जस्तो जनमत दिन्छ, त्यहीँ अनुसार काम गर्छौँ । नेमकिपालाई जनताले प्रखर प्रतिपक्षको भूमिका दिँदै आएको छ । वर्तमान पुँजीवादी सरकारमा गएर जनताका सबै समस्या समाधान हुँदैन । योग्यता अनुसार काम, काम अनुसारको ज्यालाको बन्दोबस्त हुने वैज्ञानिक समाजवादी व्यवस्थामा हामी सत्तामा जानेछौँ ।

किन भक्तपुर बाहेक अन्य जिल्लामा तपाईहरू जित्न सक्नुहुन्न ?
शासक दलले भोट नकिन्ने हो भने हामी धेरै ठाउँमा जित्छौँ । जनतामाझ विचार र घोषणापत्रबीच प्रतिस्प्रर्धा गराए हाम्रो जित निश्चित छ । चुनाव जितिसकेपछि घोषणापत्र अनुसार काम नगर्ने दल खारेज गर्नुपर्छ । अपराधी र देशघातीहरूको उम्मेदवारी खारेज गर्नुपर्छ ।

चुनाव जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
सरकारमा गएका दल र नेताहरूको गतिविधिबाट जनता पीडित छन् । उनीहरू व्यक्तिगत स्वार्थमा डुबेका छन् । भ्रष्टाचार, अनियमितता, पक्षपात गरेका छन् । तिनीहरूको गतिविधिबाट जनता आजित छन् । जनताले विकल्प खोजेका छन् । अबको विकल्प नेमकिपा नै भएको जनता भन्दै छन् ।

पुराना शासकहरूले जनताको पक्षमा काम नगरेकाले नेमकिपाका युवा उम्मेदवारहरूको उम्मेदवारीले मतदाताहरू धेरै उत्साहित छन् । देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयक पारित गर्ने जनघाती पार्टी र नेताहरूको विरोधमा जनता छन् । देशभक्त जनताले हामीलाई निर्वाचित गराउने विश्वास छ ।

नेमकिपालाई जनताले किन जिताउने ?
भ्रष्टाचारीको विकल्प भ्रष्टाचारी हुन सक्दैन । देशघातीको विकल्प देशघाती हुन सक्दैन । विदेशी दलालको विकल्प अर्को विदेशी दलाल हुन सक्दैन । देशलाई साम्राज्यवादी र विस्तारवादीहरूबाट बचाउन, कामदार जनताको पक्षमा कानुन बनाउन, आत्मनिर्भर अर्थतन्त्र तथा समानुपातिक विकासका लागि नेमकिपाको जित आवश्यक छ ।

मतदाताहरूलाई के भन्नुहुन्छ, अन्त्यमा ?
देश र जनताका सबैभन्दा योग्य उम्मेदवार छान्नुहोला । कसैको दबाब, करबल र धम्कीमा परेर भोट नहाल्नुहोला । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको स्वार्थ रोज्नुहोला । बोली होइन व्यवहार हेर्नुहोला । घोषणापत्र अनुसार काम नगर्ने दल र नेता चिनेर दण्ड दिनुहोला ।

देश र जनताको पक्षमा निरन्तर सङ्घर्ष गरिरहेको नेमकिपाको मादल चिन्हमा मतदान गरी हाम्रा उम्मेदवारहरूलाई विजयी गराउनुहुन सम्पूर्ण आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु ।


सम्बन्धित समाचार