Loading... आजः ५ पुष २०८१, शुक्रबार

सुर्खेतमा चलचित्र महोत्सव : चर्चित फिल्म ऐना झ्यालको पुतली आज निःशुल्क प्रर्दशन हुँदै

सुर्खेत ।

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव आज समापन हुँदैछ । महोत्सवको अन्तिम दिन आज रोमिज सलून र चर्चित नेपाली कथानक चलचित्र ऐना झ्यालको पुतली प्रर्दशन हुँदैछन् ।

सोमबार द लिटिल कमरेड, गड्स अफ मोलेल्बीक र लाहुरेनी (गोर्खा गर्ल) देखाइएको थियो ।

ऐना झ्यालको पुतली पछिल्लो समय निकै प्रसंशा कमाएको ठेट नेपाली कथानक चलचित्र हो । यसको कथा लेखन, निर्माण र निर्देशन सुजित बिडारीले गर्नुभएको हो । यो चलचित्र बुसान फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो । नेपालमा अहिलेसम्म बनेको उत्कृष्ट नेपाली चलचित्रको रूपमा उच्च प्रशंसा पाएको छ ।

यस फिल्मलाई मंगलबार समापन हुने नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल महोत्सवको लागि क्लोजिङ फिल्मको रुपमा देखाउन लागिएको हो । फिल्ममा माध्यमिक तह अध्ययनको लागि गाउँ छाडेर सदरमुकाम जाने सपना देखिरहेकी १३ वर्षीया विद्याले अचानक छात्रवृत्ति गुमाउन पुग्दा उसको सपना चकनाचुर हुन्छ ।

तर सधैं झगडा गरिरहने उसको ९ वर्षीय भाई वसन्तले दिदीको अवस्था देखेर ऊ विद्यालाई हौसला दिन गरेको संघर्ष समेटिएको छ । ९० मिनेटको युरोपेली चलचित्र रोमिज सलून मिसा क्याम्पले निर्देशन गरेको फिल्म हो ।

रोमीले दिउँसो आफ्नो हजुरआमाको घरमा बिताउनुपर्छ र अक्सर नेदरल्याण्डको कपाल सलूनमा उनलाई मद्दत गर्छिन । तर, हालसालै हजुरआमाको मस्तिष्कमा केही समस्या छ । उनी सबै कुरा बिर्सन्छिन । सधैं उनको बाल्यकालको बारेमा कुरा गर्छिन र अचानक डेनिस बोल्न थाल्छिन्, यस्तै कथा समेटिएको छ, रोमीज सलूनमा ।

त्यस्तै आज दिउँसो साढे एक बजे चलचित्रकर्मी बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरुलाई लागि मास्टरक्लास दिँदै हुनुहुन्छ ।

नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ११ औं संस्करण अन्तर्गत सुर्खेतमा शनिबारदेखि महोत्सव आयोजना गरेको हो । कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको हलमा सञ्चालित महोत्सवमा निःशुल्क चलचित्र हेर्ने व्यवस्था मिलाइएको छ । उद्घाटन चलचित्रका रुपमा शनिबार आराश टी रिहाहीले निर्देशन गरेको ‘अस्कर एण््ड लिली’ देखाइएको थियो । यो युरोपियन चलचित्र हो ।

आइतबार लोरेन्ट मिचेली र ओस्कार ले निर्देशन गरेको ‘लोला’ किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र गोर्खा गर्ल देखाइएको थियो ।


सम्बन्धित समाचार