चुनाव जितेपछि काँग्रेस नेता थानीको प्रतिक्रियाः आफ्नो क्षेत्रमा प्रतिबद्धता अनुसार विकास गर्छु
सुर्खेत ।
नेपाली काँग्रेसका नेता एवम प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका पूर्व मन्त्री हृदयराम थानीले चुनावमा सुर्खेत पश्चिमका जनतासामू गरिएका वाचा पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचनमा विजय प्राप्त गरेसँगै पहिलोप्रेससँग कुरा गर्दै नेता थानीले पश्चिम क्षेत्रको विकासमा कुनै कमजोरी हुन नदिने जनाएका हुन ।
‘मैले चुनावको समयमा गरेका प्रतिबद्धता पुरा गर्छु । पश्चिम क्षेत्रको सडकलगायतका पूर्वाधार क्षेत्रमा काम गर्छु ।’ उनले भने, ‘विगतमा मैले चुनाव जित्दा जनतासामू गरेका प्रतिबद्धता अनुसार काम गरेको थिएँ ।’
उनले आफूलाई अमूल्य मत दिई विजयी गराएका मतदातालाई हार्दिक धन्यवाद समेत दिए ।
थानीले ३४ हजार ६२५ मत प्राप्त गरी विजय भएका छन् ।
सुर्खेत–२ मा कुल ७६ हजार ३५२ मत खसेको थियो ।
थानीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका अमृत बहादुर बुढाक्षेत्री पाँच हजार ६७ मतान्तरले पराजित भएका हुन् । बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरेका हुन ।
२०७४ को निर्वाचनमा पराजित भएका थानीले यसपटक फराकिलो अन्तरमा विजय भएका छन् । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिबी निवारण मन्त्री भइसकेका हुन् ।
को हुन थानी
०७४ मा तत्कालिन एमाले माओवादी गठवन्धनमा नेकपा एमालेसँगको हारको व्यहोरेका थानी यो पटक माओवादीको सहयोगमा ह्याट्रिक मारेका छन् । २०७४ मा एमालेका नवराज रावत निर्वाचित हुँदा उनी पराजित भएका थिए । एमालेका रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार ६ सय ४६ मत प्राप्त गरेका थिए । २०५६ र २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थानी सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत भइ सकेका छन् । कांग्रेस संस्थापन इतर पक्षका बलिया नेता मानिने नेता थानी २०१७ जेठ २६ गते बुवा पद्मलाल थानी र आमा देवी थानीको कोखबाट सुर्खेतको बयलकांडा थिए ।
पुलचोक इन्जिनियररिङ क्याम्पसबाट इञ्जिनियरिङ्ग सकेका थानीले शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक र त्रिवि किर्तिपुरबाट एमएसम्मको अध्ययन गरेका छन् । शुरु देखिनै विद्यार्थी राजनीतिमा लागेका थानी नेपाल विद्यार्थी संघ इकाई समिति, इन्जिनियरिङ क्याम्पस, पुलचोक ललितपुर, २०३५–२०३९ सम्म सभापति भएका थिए । स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३–२०४८ सम्म उपाध्यक्ष थिए ।
नेपाली कांग्रेस जिल्ला कार्या समिति, सुर्खेतको २०४५÷२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए । नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०५९÷२०६० मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको सदस्य सचिव भएर पनि काम गरेको उनीसँग अनुभव छ । नेपाली कांग्रेसको १३ औं महाधिवशेनबाट उनी प्रदेश नम्बर ६ बाट केन्द्रीय सदस्यमा निर्वाचित भए । थानीको राजनीतिक यात्रा संघर्षपूर्ण छ । उनले पटक पटक जेल जीवन विताएका छन। २०४२ सालको सत्याग्रहको बेला भद्रगोल जेल गए भने २०४५ सालको नेपाल विद्यार्थी संघद्धारा गरिएको आन्दोलनका क्रममा सेन्टर जेल पुगका थानी पुनः २०४६ सालको जनआन्दोलनमा जेल परेका थिए ।
पहिलोप्रेस
७ मंसिर २०७९, बुधबार ०९:४१