काँग्रेस उपसभापति खड्का जुटे विकासे योजना अनुगमनमा
सुर्खेत ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएपछि नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का आफ्नो निर्वाचन क्षेत्रमा आफैंले गएको पाँच वर्षमा सुरु गरेका तर अधुरा रहेका आयोजना अनुगमनमा जुटेका छन् ।
५ वर्षअघि आफैले सुरू गरेको मेहलकुना अस्पताल भवनको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शुक्रवार निरीक्षण गरेका हुन ।
५० शैय्याको मेहलकुना अस्पतालका लागि आर्थिक वर्ष २०७३÷०७४ मा ठेक्का गरिएको थियो । २७ करोड रूपैयाँमा लोहनी कन्ट्रक्सनले ठेक्का लिएको थियो ।
उपसभापति खड्काले निर्माणस्थलबाटै संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख अम्मर थापालाई फोन गरेर अन्तिम पटक थपिएको म्यादभित्र काम सम्पन्न गर्ने गरेर कार्ययोजना बनाउन निर्देशन दिए ।
खड्काकै पहलमा २०७२ सालमा मेहलकुना अस्पताललाई स्तरोन्नति गरेर ५० शैय्याको बनाइएको थियो । उपसभापति खड्काले पूर्वी सुर्खेतसहित रूकुम, सल्यान, जाजरकोट, डोल्पालगायतका जिल्लाका सेवाग्राहीहरूलाईसमेत लक्षित गरेर ५० शैय्याको अस्पताल बनाइएको बताउँदै तत्काल भवन निर्माणको कामलाई पूर्णता दिन निर्देशन दिए ।
उपसभापति खड्काले अस्पताल निरीक्षणका क्रममा भौतिक अवस्था, अक्सिजन प्लान्टसँगै अस्पतालमा रहेका बिरामीहरूसँग भेटघाट गरेका हुन ।
उपसभापति खड्कासँगै सुर्खेत–१ क बाट प्रदेशसभाका निर्वाचित सांसद खड्गबहादुर पोखरेल, ‘ख’ का कृष्ण जिसी जितेन्द्र, नेपाली कांग्रेस सुर्खेतका उपसभापति विष्णुबहादुर खड्का, गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनः लगायत सहभागि भएका थिए ।
पहिलोप्रेस
८ मंसिर २०७९, बिहीबार १६:०७