Loading... आजः ५ पुष २०८१, शुक्रबार

नेकपा एसमा समानुपातिकबाट सांसद बन्न हानथाप, बढ्दै दलभित्र रडाको

एक सांसद पदका लागि तीन जनाको दाबी

सुर्खेत ।
चौविस ओटा प्रदेश सभा क्षेत्र रहेको कर्णालीमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको नेकपा एसले समानुपातिक कोटाबाट पाउने एक सिटका लागि को सांसद बन्ने भन्ने आन्तरिक हानथाप बढदै गएको छ ।

कर्णाली प्रदेश सभामा सत्तारुढ गठबन्धनबाट दुइ जना सांसदले उम्मेदवारी दिएपनि दुवै जना एमाले उम्मेदवारबाट पराजित भएका थिए ।नेकपा एसले जुम्ला र मुगुमा उम्मेदवारी पाएको थियो । जुम्लामा बहालवाला मन्त्री पदम रोकायालाई हराउँदै एमालेका टेकराज पछाई निर्वाचित भएका थिए भने मुगुमा नेकपा एसका गोपालबहादुर बमलाई एमालेका जितबहादुर मल्लले पराजित गरेका थिए ।

जम्मा दुई सिट मात्रै प्रत्यक्षतर्फ चुनाव लडेको नेकपा एसले समानुपातिकतर्फ भने एक सिट मात्रै पाउने भएको छ । तर उक्त सिटका लागि आयोगले महिला माग्ने सम्भावना भएपनि नेकपा एसका नेताहरु भने पुरुष सिट माग गर्न थालेका छन् ।

महिला मात्रै भए भने कल्याणी खड्का उक्त कोटाबाट समानुपातिक सांसद बन्ने निश्चित छ । उनी नेकपा एसकी केन्द्रीय सदस्य समेत हुन उनि रुकुम पश्चिमकी महिला नेतृ हुन ।

यस्तै, नेकपा एसका दैलेख अध्यक्ष बरुनाथ योगी पनि उक्त सिट आफूले पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् । लामो समयसम्म एमालेको राजनीति गरेका बरुनाथ २०७४ सालको स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिकाको मेयरमा झिनो मतान्तरले पराजित भएका थिए ।

यस्तै, सुर्खेतका बसन्त कुमार विश्वकर्मापनि समानुपातिक कोटाबाट सांसद बन्ने लविङमा छन् । उनी नेकपा एसको प्रदेश कार्यालय सचिव हुन भने २०७४ सालमा भएको निर्वाचनमा उनि नेकपा एमालेबाट प्रदेश सभातर्फ समानुपातिकमा उम्मेदवार बनेका थिए तर त्यतिबेला एमालेले सबै महिला मात्रै छान्न परेको थियो ।

पछिल्लो समय कलष्टर मिलाउका लागि पनि आफूले पाउनुपर्ने माग विश्वकर्माको छ । ‘हामीले पुरुष पाउनुपर्छ । दलित महिला तिन जना आइसकेका कारण नेकपा एसले दलित समुदायको तर्फबाट मलाई पठाउँछ भन्ने लाग्छ ।’ उनि भन्छन्, ‘पार्टीले न्याय दिने आशा रहेकै कारण म काठमाडौं गएको छैन ।’

उनि सत्तारुढ गठबन्धनका नेताहरु, आफ्नो दलका नेताहरु बसन्त जत्त्किो व्यक्ति प्रदेश सभामा आउनुपर्छ भनेर मान्यता राख्ने गरेको दाबी गर्छन ।

उता, समानुपातिकबाट एक सिट पाएपछि आफू निकटका व्यक्तिलाई सांसद बनाउन नेकपा एसभित्र तीव्र रुपमा लविङ चल्न थालेको हो ।

‘दैलेख तिरका साथीहरु बरुनाथलाई बनाउनुपर्ने माग राख्दै आइरहेका छन् । सोही अनुसारको लविङ चलिरहेको छ भने सुर्खेतका साथीहरु बसन्तलाई नै बनाउनु पर्ने लविङ गर्न थालेका छन् । यस्तो अवस्थामा कसलाई कसरी छान्ने भन्नेमा नेकपा एसका प्रदेश र केन्द्रका नेताहरु भित्र रडाको मच्चिएको छ ।’

नेकपा एस उच्च स्रोतले भन्यो, ‘आज आयोगले गर्ने परिपत्र अनुसार महिला नाम सिफारिस गर्न भनेर आएको खण्डमा कल्याणी जि को विकल्प हुँदैन । अन्यथा कसलाई ल्याउने भन्ने निर्णय पार्टी हाइकमाण्डले गर्ला ।’


सम्बन्धित समाचार