Loading... आजः ४ पुष २०८१, बिहीबार

जीवन शाही नै दलको सर्वसम्मत नेता हुन्छन : सांसद पोखरेल

जीवनबहादुर शाही प्रदेशसभाको सबैभन्दा सिनियर नेता पनि हुनुहुन्छ । जीवनबहादुर शाही नेपाली कांग्रेसको केन्द्रीय सदस्य र कार्यसम्पादन समितिको सदस्य पनि हुनुहुन्छ । त्यसैले उहाँ संसदीय दलको नेता सर्वसम्मत हुने कुरामा दुई मत देखिदैन् ।

 

सुर्खेत ।
निर्वाचन आयोगले समानुपातिक सांसदहरुलाई प्रमाणपत्र दिएसँगै संघसँगै प्रदेशमा पनि सरकार गठनको प्रक्रिया सुरु भएको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो संसदमा एक प्रत्यक्षसहित छ जना सांसद रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । कर्णालीमा कांग्रेससँगै दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि सरकारको पहिलो नेतृत्व आफूले गर्न पाउनुपर्ने माग गरिरहेको छ । संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा सुर्खेत–१ ‘क’बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद एवम् सुर्खेत जिल्लाका पार्टी सभापति खड्गबहादुर पोखरेलसँग गरिएको कुराकानी ः

कर्णाली प्रदेशमा सरकार गठन प्रक्रिया कसरी अघि बढ्दैछ ?
शनिबार मात्रै निर्वाचन आयोगले सातै प्रदेशहरुको नतिजा प्रदेश प्रमुखलाई बुझाएको छ । समानुपातिक प्रर्णालीबाट निर्वाचित सांसदहरुले भर्खर प्रमाणपत्र बुझ्नु भएको छ । अव संघसँगै प्रदेशमा पनि सरकार गठनका लागि प्रक्रिया सुरु हुन्छ । प्रदेश सरकार गठन अघि राजनीतिक दलहरुले संसदीय दल गठन गर्नुपर्ने व्यवस्था छ । कर्णाली प्रदेशको सन्दर्भमा नेपाली कांग्रेसले संसदीय दल गठन र सरकार गठनको लागि गृहकार्य गरिरहेको छ ।

नेकपा माओवादी केन्द्रले पनि कर्णालीमा सरकार गठनको गृहकार्य थालेको छ । माओवादी केन्द्रले त प्रदेश सरकारको पहिलो नेतृत्व आफूहरुले पाउनुपर्ने निर्णय गर्दै केन्द्रमा पठाइसकेको छ । प्रदेश सरकारको पहिलो नेतृत्व कसले गर्छ ?
माओवादी केन्द्रले गरेको निर्णयलाई हामीले अन्यथा लिनु हुँदैन । सरकारको नेतृत्वमा दावीनै गर्र्न नपाउने भन्ने होइन् । हामी स्थानीय तह, प्रदेश र संघको निर्वाचन मिलेरै लडेका हौं । त्यसैले प्रदेशको नेतृत्व पनि सहमतिकै आधारमा हुन्छ । कर्णाली प्रदेशमा पहिलो दल नेपाली कांग्रेस हो । ४० मध्ये १४ सिट हामीले जितेका हौं । पहिलो दल हुनुको नाताले प्रदेश सरकारको पहिलो नेतृत्व हामीले पाउनुपर्छ । केन्द्रमा गठबन्धन दलका शीर्ष नेतृत्वबीच यहीँ विषयमा सहमति हुन्छ भन्नेमा हामी ढुक्क छौं ।

संसदीय दलकोे नेता चयन गर्ने विषयमा के भइरहेको छ ?
औपचारिक रुपमा अहिलेसम्म दलको नेता चयन गर्ने विषयमा छलफल भएको छैन् । वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीलाई शीर्ष नेतृत्वले फेरि पनि कर्णालीको नेतृत्व दिने उद्देश्यलेनै प्रदेशमा चुनाव लडाएको हामीले बुझेका छौं । उहाँ हुम्ला जिल्लाबाट विजयी भएर आउनु भएको छ । कर्णाली प्रदेश सरकारको नेतृत्व पछिल्लो एक वर्षदेखि नेपाली कांग्रेसले गरिरहेको छ । कांग्रेसको नेतृत्व जीवनबहादुर शाहीले गरिरहनु भएको छ । उहाँको नेतृत्वमा कर्णालीले केही परिवर्तनको अनुभूति पनि गरिरहेको छ । ‘६ब’को नीतिलाई कार्यान्वयन गर्नका लागि पनि कर्णालीमा उहाँको नेतृत्व आवश्यक छ । त्यसैले पनि हाम्रो पार्टीमा संसदीय दलको नेता चयनका लागि विवाद छैन् ।

जाजरकोटबाट निर्वाचित सांसद राजीवविक्रम शाहले पनि सामाजिक सञ्जालमार्फत संसदीय दलको नेतामा दावी गर्नु भएको छ नि ?
लोकतन्त्रमा आफ्नो अभिव्यक्ति र इच्छा राख्न पाउने अधिकार सवैलाई छ । यसलाई अन्यथा नभई स्वभाविक रुपमा लिनु पर्दछ । हामि निर्वाचित सदस्यहरु केहि दिनमा बसेर सल्लाह गर्छौ र संसदीय दलको नेता सर्वसहमत हुने कुरामा म विश्वस्त छु । जीवनबहादुर शाही प्रदेशसभाको सबैभन्दा सिनियर नेता पनि हुनुहुन्छ । जीवनबहादुर शाही नेपाली कांग्रेसको केन्द्रीय सदस्य र कार्यसम्पादन समितिको सदस्य पनि हुनुहुन्छ । त्यसैले उहाँ संसदीय दलको नेता सर्वसम्मत हुने कुरामा दुई मत देखिदैन् ।

 


सम्बन्धित समाचार