दैनिक दुइ उडान भर्दै बुद्ध एअर
सुर्खेत ।
बुद्ध एयरले काठमाडौं–सुर्खेत दैनिक दुई पटक गर्ने भएको छ । बुधबारदेखि दैनिक दुई वटा उडान भर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको हो । बुद्ध एयरका उडान सञ्चालन प्रवन्धक सुवर्ण खरेलले यात्रुहरुको चाँपका साथै नागरिक उड्डयन प्राधिकरणसँग नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेको प्रयासका कारण दैनिक दुई वटा उडान भर्न लागिएको जानकारी दिए ।
‘पुस १ गतेबाट एटीआर–७२ सिटे जहाजबाट काठमाडौं–सुर्खेत उडान सुरु गरेका हौं,’ उनले भने, ‘यात्रुहरुको चापका साथै सिंगो कर्णाली प्रदेश सरकार र निर्वाचित सांसदहरुले नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक समन्वय गरेपछि बुधबारबाट दैनिक दुई वटा उडान सुरु गर्न लागिएको हो ।’
बुद्ध एयरका अनुसार पहिलो जहाज काठमाडौंबाट विहान १० बजे उड्नेछ भने सुर्खेतबाट ११ः३५ मा काठमाडौं फर्किनेछ । यस्तै दोस्रो जहाज दिउँसो १ः२५ मा काठमाडौंबाट सुर्खेत आउनेछ भने सुर्खेतबाट तीन बजे काठमाडौं फर्किनेछ ।
सुर्खेत विमानस्थलको पिचको लेभल नौ छ । एटीआर–७२ जहाज उडान तथा अवतरणका लागि पिचको लेभल १२ चाहिन्छ । प्रदेश सरकारका साथै कांग्रेस उपसभापति खड्काको पहलमा नागरिक उड्डयन प्राधिकरणले सुर्खेतमा अहिलेकै अवस्थामा उडान भर्न अनुमति दिएको हो । केही समयमै रात्रीकालीन उडानका लागि पनि रन–बेमा लाइटहरु जडान हुनेछ । नागरिक उड्डयन प्राधिकरणले यसका लागि आवश्यक बजेट छुट्याएको छ ।
पहिलोप्रेस
५ पुष २०७९, मंगलवार ०८:४९