कर्णालीको तेस्रो मुख्यमन्त्री बन्न लागेका शर्मा को हुन ?
सुर्खेत ।
कर्णाली प्रदेशले आज साँझ संघीयता स्थापना पछिको तेस्रो मुख्यमन्त्रीको रुपमा रुकुम पश्चिमका राजकुमार शर्मा ‘आर्ट’लाई पाउँदैछ ।
नेकपा एमालेको समर्थनमा उनी नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीका उम्मेदवार बन्न लागेका हुन ।
यसअघि २०७४ सालमा पहिलो मुख्यमन्त्रीको रुपमा कालिकोटका महेन्द्रबहादुर शाही एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
त्यसपछि नेकपा माओवादी, एकीकृत समाजवादीको सर्मथनमा झण्डै डेढ वर्ष अघि नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको दोश्रो मुख्यमन्त्रीको रुपमा नेतृत्व गरे ।
यसपटक नेकपा माओवादी संसदीय दलका नेता आर्टले मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छन् ।
०२८ सालमा रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउँमा जन्मिएका शर्मा सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्ने गर्दथे ।
२०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि राजतन्त्र विरुद्धमा वकालत गर्दै राजनीतिमा होमिए ।
शर्मा स्कुल पढ्दाताका ०४३ सालमा सदरमुकाम पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य भएर काम गरेपछि उनी राजनीतिमा बिस्तारै आफ्नो प्रभाव बढाउँदै गए ।
०४६ मा आएर उनले मोटो मसालको पार्टी सदस्यता प्राप्त गरे । त्यो बेलामा सबैले पार्टीको सदस्यता पाउन सक्ने वातावरण थिएन ।
०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा होमिएका थिए ।
०५२ साल पौष महिनामा डोल्पाको त्रिवेणी चौकी आक्रमण गर्ने योजना बन्यो । विजय घले फौजी कमाण्डरको अगुवाइमा शर्मा लडाईमा होमिन पुगे ।
त्यसपछि ०५४ साबिक कर्णालीका जिल्लाहरूमा विभिन्न कमाण्डको नेतृत्व सम्हालेका शर्मा ०५८ पछि मुगु र डोल्पाको नेतृत्व गरे ।
०६१ दैलेख झरेका उनी शान्ति प्रक्रियासम्म दैलेखमा रहेर काम गरेका थिए ।
शान्ति प्रक्रियापछि थारुवाङ राज्यको प्रमुख भएर काम गरे ।
०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभागमा रहेर काम गरिसकेका छन् ।
शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् ।
हाल उनि नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्यको भूमिकामा पार्टीमा क्रियाशील छन् ।
पहिलोप्रेस
२७ पुष २०७९, बुधबार १२:१३