Loading... आजः ४ पुष २०८१, बिहीबार

एमालेमा सभामुख बन्न त्रिपक्षीय भिडन्त

सुर्खेत ।
नेकपा एमालेले केन्द्रीय सत्तारुढ गठबन्धनबाट भागवण्डामा पाएको सभामुख पदमा त्रिपक्षीय भिडन्त भइरहेको छ । मन्त्री हुने सम्भावना अत्यन्त न्यून भएपछि पहिलो चरणमा पाँच वर्षका लागि सभामुख बनेर ढुक्क रहन एमालेका तीन सांसद बिच होडवाजी चल्न थालेको हो ।

यसअघि चर्चामा रहेकी सुर्खेतकी नन्दा गुरुङ थिईन । उनको दाबी बलियो बनिरहेको बेला मुगुमा जितबहादुर मल्लले समेत सभामुख पदमा दाबी गरे । दोहोरो भिडन्त चलिरहेको समयमा अब हुम्लाका कलबहादुर हमाल पनि प्रतिस्पर्धा गर्न थप भएका छन् ।

माघ एक गते हुने सभामुख पदको निर्वाचनका लागि पुस तीस गते उम्मेदवारी दिने दिन नजिकै आइरहँदा सभामुख बन्नका लागि दलका नेता यामलाल कंडेल देखि आफू निकटका केन्द्रीय नेताहरुलाई तिनै सांसदले रिझाउन थालेका छन् ।

एमालेमा दश जना सांसद छन् । ती दश जना मध्ये मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा तीन जना जाने पक्का छ तर साढे दुईवर्षपछि पनि तीन जना मात्रै जान पाउने भएपछि पदिय हैसियतले दोश्रो ठूलो पद सभमुख बन्न तीनै जना लालायित हुँदा सभामुख को बन्ने भन्ने निष्कर्षमा एमाले नेताहरु हालसम्म पुगेका छैनन् ।

‘मलाई पार्टीले सभामुख बनेर सेवा गर भन्यो भनेपनि मान्न तयार छु । होइन मन्त्री बन भनेर जिम्मा दिएपनि म काम गर्न तयार छु ।’ एमाले मुगुका अध्यक्ष समेत रहेका मल्लले पहिलोप्रेससँग भने, ‘मेरा लागि पार्टी ठूलो हो । पार्टीले जुन भूमिका मेरा लागि दिन उचित ठान्छ त्यो मेरा लागि स्वीकार्य छ ।’

उनले यस्तो प्रतिक्रिया दिएपनि उनी पाँच वर्षका लागि सभामुख बन्न तयार छन् ।

‘एमालेभित्र सभामुख र मन्त्री को बन्ने भन्ने विषयमा व्यापक मात्रामा छलफल नै भएको छैन ।’ एमालेका एक सांसदले भने, ‘दलका नेता कंडेल र प्रदेश अध्यक्ष विनोद कुमार शाहले जे भने त्यो मान्नु पर्ने बाध्यतामा हामी सांसद छौं ।’


सम्बन्धित समाचार