माओवादीबाट को होलान उपसभामुख ? यी हुन सम्भावित उम्मेदवार
सुर्खेत ।
नेकपा एमालेको भागमा परेको सभामुखमा नन्दा गुरुङ निर्वाचित भइसकेपछि अब उपसभामुख को होलान भन्ने चर्चा परिचर्चा हुन सुरु भएको छ ।
संवैधानिक प्रावधान अनुसार सदनको पहिलो वैठक बसेको मितिले १५ दिनभित्र सभामुख तथा उपसभामुख चयन गरिसक्नुपर्ने प्रावधान भएपनि उपसभामुख चुन्ने प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन । आज बस्ने प्रदेश सभाको वैठक अघि बस्ने सर्वदलीय वैठक बसेर चुनावी प्रक्रिया सुरु हुने भएको हो ।
नेकपा माओवादी केन्द्रले हालसम्म उपसभामुखमा कसलाई पठाउने भन्ने बारेमा निर्णय भने गरिसकेको छैन यद्यपी माओवादी वृत्तमा दुइ जना सांसदको नाम भने चर्चामा छ ।
कालिकोटबाट समानुपातिक सांसद बनेकी यशोदा न्यौपाने उपसभामुख पदकी बलियो दावेदार हुन । एमालेले सभामुखमा पुरुष पठाएको भए उनको नाममा दलभित्र कुनैपनि असहमति नभएको माओवादी स्रोतको दाबी छ । ‘उहाँलाई पार्टीले पहिले नै वचन दिइसकेको छ । उहाँ नै उपसभामुखको बलियो दावेदार हुन ।’ माओवादीका एक सांसदले भने, ‘तर पछिल्लो समयमा हुम्लाका सांसद रणसिंह परियारले पनि उपसभामुख हुने इच्छा देखाएका छन् ।
‘उहाँले मन्त्री खोज्नु भएको हो तर मन्त्री हुने स्म्भावना कम भएपछि हाललाई उपसभामुख भएपनि हुन्छ भन्नेमा उहाँ पुगिसक्नु भएको छ ।’ स्रोत भन्छ, ‘तर उहाँ प्रत्यक्ष निर्वाचित भएका कारण पनि उहाँलाई पार्टी शीर्ष नेतृत्वले उपसभामुखमा पठाउन भने चाहेको छैन ।’
यसरी हेर्दा महिला सभामुख भएका कारण कर्णालीमा दुवै पदमा महिला नै ल्याउँदा राम्रो सन्देश जाने पनि माओवादी सांसदको मत छ । ‘उहाँहरुले सभामुखमा महिला पठाउनु भएको छ ।’ माओवादी केन्द्रकी अध्यक्ष विमला केसि भन्छिन्, ‘हामी पनि महिला पठाउने वा पुरुष पठाउने भन्ने बारेमा आन्तरिक छलफलमै छौं ।’
पहिलोप्रेस
३ माघ २०७९, मंगलवार १०:४७