मुख्यमन्त्री नियुक्त भएको नौ दिनपछि विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले मुख्यमन्त्री नियुक्त भएको नौ दिनका दिन प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
उक्त प्रयोजनका लागि भन्दै संसद सचिवालयमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन पत्र दर्ता गरेका छन् । प्रदेश सभा सचिवालय स्रोतका अनुसार हिजो मंगलबार साँझ पाँच बजे विश्वासको मत लिने प्रयोजनका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका हुन ।
‘विश्वासको मत लिनका लागि भनेर मुख्यमन्त्री शर्मा ज्यूले हिजो मंगलबार साँझ पाँच बजे पत्र दर्ता गराउनु भएको छ ।’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भने, ‘विश्वासको मत लिने पत्र दर्ता भएको समयददेखि ४८ घण्टा पछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ । त्यसकालागि भोली साँझ पाँच वजे ४८ घण्टा पुग्छ । सरकारले चाहेको खण्डमा हामी भोली साँझ पनि विश्वासको मत प्रयोजनकालागि सदन सुचारु गर्न सक्छौं । उहाँहरुले जहिले भन्नु हुन्छ हामी भोली बेलुका पाँच बजेपछि सदन सञ्चालन गर्न तयार छौं ।’
यता, प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत कहिले लिने भन्ने बारेमा दलहरुबीच छलफल गर्ने बताए । ‘हामी भोली नै विश्वासको मत लिने वा पर्सी लिने यो विषयमा छलफल गर्छौं ।’ मुख्यमन्त्री शर्माले भने ।
पहिलोप्रेस
४ माघ २०७९, बुधबार १०:१७