हक अधिकार प्राप्तीकालागि जनताले फेरिपनि बलिदान गर्नुपर्ने दिन अन्त्य गरौंः मुख्यमन्त्री शर्मा
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा ‘आर्ट’ले सहिदहरु कुनै जाती विशेष, दल विषेस वा धर्म विशेषका नहुने बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सहिद पार्क तथा वनस्पति उद्यानमा आज सहिदहरुको सम्झनामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै सहिदहरु देशका हुने बताएका हुन ।
‘सहिदका फोटाहरुमा माला लगाउने, टिका लगाउने र एक मिनेट मौनधारण गर्ने कुरामात्रै होईन, उहाँहरुको बलिदानी के कारणले भयो भन्ने बारेमा प्रदेश सरकार गम्भीर भएर लाग्नेछ । हाम्रा कार्यशैली, हाम्रा नीतिहरुले उहाँहरुको सपना पुरा गर्ने गरि हामी अघि बढिरहेका छौं । हामी उहाँहरुलाई कार्यक्रममा मात्रै सीमित नराखेर हाम्रा वार्षिक कामका समिक्षाहरु, हाम्रा गतिविधिहरु सहिदका सपना पुरा गर्नका लागि ग¥यौं वा अरु केहि गर्दैछौं ? हाम्रा कतिपय गतिविधिलाई, हाम्रा कार्यशैलीलाई कतै उहाँहरु देख्ने ठाउँमा हुनुहुन्छ भने कतै गिज्याई राख्नु भएको त छैन ? भन्ने अनुभूति भइरहेको सन्दर्भमा हाम्रो कार्यशैली, हाम्रा गतिविधि त्यहि बाटोमा हिडनु नै सहिद प्रतिको सच्चा श्रद्धान्जली हो । कर्णाली प्रदेश सरकार यसप्रति गम्भीर छ ।’
मुख्यमन्त्री शर्माले भने, ‘सहिदहरु राष्ट्रका हुन्छन, जनताका हुन्छन, न्यायका हुन्छन् । हामी अविचलित रुपमा सहिदहरुका सपना पुरा गर्न अघि बढने प्रतिबद्धता जाहेर गरौं, एउटा संकल्प गरौं, सबै प्रकारका भेदभावहरु अन्त्य गर्नेछौं । हामी सुखि र खुशी समाज निर्माण गर्नेछौं । मान्छेको जीवन एकचोटी हो । एकचोटी पाईने जीवनको परवाह नगरेर बलिदान दिनुपर्ने स्थिति किन आइपुग्छ ? मलाई यहि कुराले घोचिरहन्छ ।’
उनले फेरिपनि हक अधिकार प्राप्तीकालागि बलिदान गर्नुपर्ने, संघर्ष गर्नुपर्ने दिनहरु नआउन भन्ने कामना गरे । ‘कसैले फेरि विद्रोहको झण्डा उठाउन नपरोस, कसैले संघर्ष गर्न नपरोस, बलिदान दिन नपरोस हामीले अपनाउनुपर्ने सचेतता र सजगता यिनै हुन ।’ उनले भने, ‘जनतातिर फर्किएर काम ग¥यौं, जनतासँग संगै रहेर काम ग¥यौं भने, आधारभुत वर्गसँग रहेर काम ग¥यौं भने यो दिन आउने छैन । हामी सबै त्यतैतिर सजग र सचेत भएर, सहिदका सपना पुरा गर्न लागौं ।’
पहिलोप्रेस
१६ माघ २०७९, सोमबार ११:१७