Loading... आजः ४ पुष २०८१, बिहीबार

प्रदेशसभालाई फुर्सदिलो बनाउँदै कर्णाली सरकार, सदन बस्नेमा अन्यौलता

प्रदेश प्रमुखको सम्वोधन अनिश्चित

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले सरकार गठन भएको एक महिना वित्दा पनि सदनलाई विजनेश दिन नसक्दा प्रदेश सभा फुर्सदिलो बन्न पुगेको छ ।

प्रदेश सभा फुर्सदिलो बन्दा कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपाने काठमाडौं लागेकी छिन भने प्रदेश सभा सचिव जीवराज बुढाथोकी पनि काठमाडौं गएका छन् ।

नयाँ सरकार गठन भएको एक महिना भन्दा बढि समय भइसक्दा पनि कर्णाली प्रदेश सभामा सरकारले एक ओटा विधेयक सम्म दर्ता गर्न सकेको छैन । सदन अन्तिम पटक माघ ६ गते बसेको थियो । माघ ६ गते बसेको वैठक सभामुख नन्दा गुरुङले अनिश्चितकालका लागि भन्दै स्थगित गरेकी थिईन ।

कर्णालीलाई रोग, भोक, अभावबाट मुक्त गर्ने, कर्णालीको गरिबीलाई समाप्त पार्ने एजेण्डासहित होमिएका राजनीतिक दलहरु प्रदेश सभालाई सक्रिय बनाउने भन्दा पनि निस्क्रिय बनाउनेतर्फ अग्रसर भइरहेका छन् ।
ईतिहासमै पहिलोपटक महिलाको नेतृत्व पाएको कर्णाली प्रदेश सभा यतिबेला रनभुल्लमा छ ।

प्रदेश सभाले नयाँ सांसद आएसँगै सभामुख, उपसभामुखको चयन प्रक्रिया, मुख्यमन्त्रीको विश्वासको मत लिने प्रक्रिया मात्रै हालसम्म पुरा गरेको छ । अझै प्रदेश सभालाई व्यवस्थित बनाउन कार्यव्यवस्था परामर्श समिति बनाइसकेको छैन कर्णाली प्रदेश सभाले ।

कार्यव्यवस्था परामर्श समिति सदनको सबैभन्दा महत्वपूर्ण अंश हो । यो समितिले नै ‘हाउस’मा कुन एवजेण्डा लैजाने, के विषयमा छलफल गर्ने भन्ने निर्णय गर्ने गर्दछ । हाल यो समितिमा सदनमा प्रतिनिधित्व गर्ने स्वतन्त्र सांसदसहित सबै दलका प्रतिनिधि सांसदलाई राखेर वैठक गर्ने गरिएको छ ।

यसलाई सर्वदलीय वैठकको रुपमा समेत लिन सकिन्छ । यस्तै, सदनले गति लिनका लागि प्रदेश सभामा रहेका चार ओटा समितिको निर्वाचन गर्नुपर्ने हुन्छ । सदन नबसेको समयमा मिनि पार्लियामेन्टको रुपमा सदनमा रहेका यी चार ओटा समितिले सरकारलाई आवश्यक निर्देशन दिने गर्दछन् ।

प्रदेश सभाको पहिलो वैठक बसेको लामो समय वित्दापनि समिति गठनबारेमा हालसम्म सदनले काम कारवाही अघि बढाउन सकेको छैन ।

‘कार्यव्यवस्था परामर्श समिति बनाउने, संसदीय समितिलाई पूर्णता दिने देखि सरकारलाई आवश्यक निर्देशन दिने सम्मका कार्य अब सुरु हुनुपथ्र्यो । राजनीतिक दलहरुमा यसप्रति कुनै चासो देखिएको छैन ।’ संसद सचिवालयका एक कर्मचारीले भने, ‘नयाँ सदन आइसकेपछि प्रदेश प्रमुखको सम्वोधन गर्ने प्रचलन भएपनि हालसम्म प्रदेश प्रमुखलाई कहिले बोलाउने भन्ने टुंगो लाग्न सकेको छैन ।’

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी जितेन्द्रलाई सदनलाई किन फुर्सदिलो बनाएको भनेर प्रश्न सोध्न खोज्दा उनले कार्यक्रममा भएको जानकारी दिए ।


सम्बन्धित समाचार