Loading... आजः ४ पुष २०८१, बिहीबार

जनयुद्ध दिवसको अवसरमा मन्त्री जिसीद्धारा दश जना द्वन्द्वपीडितको स्वास्थ्य वीमा गर्ने घोषणा

सत्तासाझेदार दलका नेताबाटै जनयुद्धप्रति नकारात्मक टिप्पणी हुनु आपत्तिजनक

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी ‘जितेन्द्र’ले २८ औं जनयुद्ध दिवसको अवसर पारेर आफ्नो सेवा सुविधावापत पाउने रकमबाट कर्णाली प्रदेशका दश जना द्वन्द्वपीडितको स्वास्थ्य वीमा गरिदिने घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्र भेरीगंगा नगरपालिका वडा नं. ६ मा आयोजना गरिएको जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले व्यक्तिगत रुपमा दश जनाको स्वास्थ्य वीमा गर्ने बताएका हुन ।

मन्त्री जिसिले कर्णालीमा रहेका सबै द्धन्द्धपीडितलाई स्वास्थ्य वीमा गराउने खालको कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जनाए ।

‘स्वास्थ्य वीमा गरेको खण्डमा कम्तिमा हातमा रकम नहुँदा पनि पीडितले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने छन् । त्यस्ता घाईते तथा अपांगता भएकाहरुलाई आफ्नो सरकार भएको महसुस हुने वातावरण मिलाउने तयारीमा प्रदेश सरकार छ ।’ उनले भने ।

‘अहिलेको लोकतान्त्रिक व्यवस्था ल्याउन हजारौं योद्धाहरुले रगत बगाएका छन् । घाईते तथा अपांग भएका छन् । जसका कारण आज हामीले बोल्न पाएका छौं, लेख्न पाएका छौं, स्वतन्त्रता पाएका छौं, अझ भन्ने हो भने हामीले संविधानसभाबाट संघीयता, धर्मनिरपेक्षता पाएका छौं । समानुपातिक प्रतिनिधित्व पाएका छौं ।’ मन्त्री जिसीले भने, ‘त्यसको जग जनयुद्ध हो । त्यहि जनयुद्धको आधारमा नेपालमा निरंकुशता हटेको हो ।’

मन्त्री जिसीले सत्तारुढ दलकै केहि जिम्मेवार नेताहरुले नै जनयुद्ध प्रति गरेको टिप्पणी प्रति आपत्ति जनाए ।

‘यहि सरकारमा उहाँहरु हुनुहुन्छ । जनयुद्ध नेकपा माओवादी एक्लैले मात्रै गरेको होइन, लाखौं जनता यसमा सहभागि भएका हुन । यो कुरा उहाँहरुले भुल्नु भएको जस्तो महसुस भयो । जनुद्धमा सबैको बराबरी हिस्सेदारी छ । चुनावको समयमा गठबन्धनलाई भडकाउने केहि वामपन्थी दलहरु जनयुद्ध दिवसलाई नकारात्मक टिप्पणी गरेर मेलमिलाप नगराउने वातावरण तयार गर्न उद्दत देखिनु किमार्थ राम्रो होइन ।’ उनी भन्छन्, ‘अब यस्ता सोचबाट माथि उठेर सबै नागरिक अघि बढनुको विकल्प छैन । विगत सम्झेर बस्नु भन्दा पनि देश कसरी बनाउने भन्नेतर्फ सबै लाग्न आवश्यक छ ।’

 


सम्बन्धित समाचार