राप्रपाको वामपन्थीलाई हेर्ने अनौठो तरिका: एमालेका सरकारलाई सर्मथन कायमै, माओवादीका सरकारबाट फिर्ता
सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली राजनीतिमा अनौठो रवैया देखाउन थालेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै वामपन्थी दल भएपनि संघ देखि प्रदेश स्तरका सरकारका बारेमा भने अनौठो निर्णय लिन थालेको पाइएको हो ।
पुस १० गतेको गठबन्धन भत्किएसँगै रापप्रा संघीय सरकारबाट मात्रै वाहिरिएको छैन, उसले माओवादी नेतृत्वमा रहेको कर्णाली प्रदेश र वाग्मती प्रदेश बाहेक सबै अन्य तीन प्रदेशमा रहेको एमाले नेतृत्वका प्रदेश सरकारमा सर्मथन कायमै राखेको छ । कर्णाली र वाग्मतीमा भने राप्रपाले सर्मथन फिर्ता लिएको हो ।
कर्णालीमा हालसम्म नेकपा एमालेले सर्मथन फिर्ता नलिएका कारण सरकार धरापमा भने परेको छैन । पुस २५ गतेपछि एमालेले सरकारबाट सर्मथन लिएको खण्डमा भने कर्णालीमा मुख्यमन्त्री राजकुमार शर्माको सरकार धरापमा पर्ने निश्चित छ । त्यसपछि उनले नेपाली काँग्रेसबाट सर्मथन लिनुपर्ने बाध्यता हुनेछ । केन्द्रमा भएको आठ दलीय गठबन्धन अनुसार नै अघि बढेको खण्डमा शर्मालाई विश्वासको मत लिन समस्या भने हुनेछैन ।
यद्यपी नेपालको राजनीति एकै नासले अघि नबढने भएका कारण पुस २५ सम्म नेपालका केन्द्रीय नेताहरु के निर्णय गर्छन त्यसमा भर पर्नेछ ।
‘हामीले सरकारलाई दिएको सर्मथन फिर्ता लिइसकेका छौं ।’ राप्रपा सांसद सन्तोषी शाहीले पहिलोप्रेससँग भनिन्, ‘केन्द्रले नै निर्णय गरेको कारण हामीले सर्मथन फिर्ता लिएका हौं ।’
राप्रपा भित्र सबै सरकारबाट सर्मथन फिर्ता लिनुपर्ने दबाब भएपनि अध्यक्ष राजेन्द्र लिङ्देन र एमाले अध्यक्ष केपि ओलीबीचको साँठगाँठका कारण यस्तो निर्णय भएको भन्दै कार्यकर्तामा रुष्टता छाएको छ ।
‘सबै वामपन्थी सरकारबाट सर्मथन फिर्ता लिनुपथ्र्यो नि, अध्यक्ष ज्यूको एमालेसँग अनौठो सम्वन्ध देखिएको छ ।’ राप्रपाका सुर्खेतका एक जिल्ला कार्यकर्ताले भने, ‘यसले राप्रपाको भलो गर्दैन ।’
पहिलोप्रेस
१५ फाल्गुन २०७९, सोमबार ०७:१६