Loading... आजः ४ पुष २०८१, बिहीबार

अर्थमन्त्री शाहको बजेटमाथिको राईदाईः योजना निर्माणको जिम्मा आफ्नै भाई, भतिज र ज्वाईलाई

हेर्नुहोस योजना जिम्मा दिइएको लिस्ट

शेरबहादुर थापा/सुर्खेत ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले अर्थमन्त्रालयमा अर्थ विविधि शीर्षकमा राखिएको बजेटलाई चुनावी खर्च असुल्ने माध्यमको रुपमा लिइएको पाइएको छ ।

कोभिडको समयमा कर्णाली प्रदेश सरकारले अत्यावश्यक सेवाका लागि रकम आवश्यक परेको खण्डमा त्यहि शीर्षकबाट चलाउन मिल्ने गरि राखिएको उक्त बजेटलाई मन्त्री शाहले आफन्तलाई योजना बाँडने अवसरका रुपमा लिएको पाइएको हो ।

मन्त्री शाहले विनियोजन गरेको बजेट कागजमा आफ्ना सहोदर कान्छा भाई गणेश बहादुर शाही, भतिजा खगेन्द्र शाही, ज्वाई नाता पर्ने कर्णबहादुर शाही, उनि राजाको शाशनकालमा राज्यमन्त्री हुँदा स्वकीय बनेका उनका भाई सर्वराज शाहीको नाउँमै बजेट विनियोजन गरेर काम गराउन लिखित विवरण दिएको खुलेको हो ।

पहिलोप्रेसलाई प्राप्त कागजातमा उनले योजनामा नामै तोकेर अध्यक्ष बनाउन वा काम चलाउन भनेर जिम्मा दिइएको उल्लेख छ ।

उनको वडा ठाँटीकाँध गाउँपालिका एकमा सुचियाँ–खातीगाउँ देखि भैरवस्थान सडक निर्माण कार्यक्रमका लागि ६० लाख बजेट छ । उक्त योजना शीर्षकमै खगेन्द्र शाहीको नाम उल्लेख छ । उनै खगेन्द्रका लागि भनेर लामामेला गुयालसिम रोकायावाडा सडक स्तरोन्नती गर्न भनेर ६५ लाख रुपैंया पठाइएको छ ।

त्यस्तै, खगेन्द्र शाहीले नै कार्यान्वयन गर्ने भनेर मटेला नदाई भैरवस्थान सडक स्तरोन्नती गर्न भनेर पचास लाख बजेट विनियोजन मन्त्री शाहले गराएका छन् । अर्थात, उनको वडामा गएको बजेटमध्ये यिनै खगेन्द्र शाहीले एक करोड ७५ लाख बराबरको काम गर्ने जिम्मा पाएका हुन ।

मन्त्री शाहका मामाका छोरा जयाबहादुर शाहीलाई कालो शिल्लो मन्दिर निर्माण ठाँटीकाँध वडा नं. तीन भनेर १५ लाख बजेट विनियोजन गरेका छन् ।

यस्तै, उनका पूर्व स्वकीय सचिव समेत रहेका सर्वराज शाहीका लागि भनेर मन्त्री शाहले मटेला तित्रखेत सडक स्तरोन्नती भनेर ६५ लाख रुपैंया विनियोजन गरेका छन् ।

यस्तै, उनका स्वकीय सचिव प्रेमिका शाहीका बुवा कर्णबहादुर शाही मन्त्री शाहका नाताले ज्वाई पर्छन । उनलाई भनेर भवानी मावि फिल्ड निर्माण लगायत अन्य संरचना निर्माण गर्न भनर ठाँटीकाँध गाउँपालिका वडा नं. तीन मा तीस लाख रुपैंया विनियोजन गरेका छन् ।

उनि निकटका कार्यकर्ता एवम उनकै वडावासी चक्र विकलाई ठाँटीकाँध खेलमैदान निर्माण गर्न भनेर २० लाख रुपैंया विनियोजन गरेका मन्त्री शाहले अर्का वडा नं. एककानिवर्तमान वडाअध्यक्ष नरतम बुढाका लागि भनेर रातामाटा ठाँटीकाँध भीमपाईला सडक स्तरोन्नती गर्न भनेर ७० लाख रुपैंया विनियोजन गराएका हुन । यस्तै, उनकै लागि भनेर मानाकोट देखि भैरवस्थान सम्म सडक निर्माण गर्न भनेर थप ४० लाख बजेट विनियोजन गरेका हुन ।

मन्त्री शाहले आफ्नै सहोदर कान्छा भाई गणेशबहादुर शाहीको पनि चित्त दुखाउन सकेनन् । उनको जिम्मामा भनेृर मन्त्री शाहले आफ्नै वडामा रहेको भैरव मन्दिर निर्माण गर्न भनेर पचास लाख रकम विनियोजन गरिदिएका हुन ।

यस्तै आठबीस नगरपालिकाको राकम अस्पतालको जग्गा घेरबार तथा सडक निर्माण भनेर छुट्याइएको एक करोड ५० लाख बजेट सञ्चालन गर्ने जिम्मा निवर्तमान नगरप्रमुख खड्गराज उपाध्यायलाई दिने गरि जिम्मा दिएका हुन । उनि मन्त्री शाहको अत्यन्त नजिकका गुटका कार्यकर्ता हुन ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले सरकार ढल्ने सम्भावना भएकै समय पारेर आफ्नो निर्वाचन क्षेत्र सहित कर्णालीका दश जिल्लामा रातो किताबमा प्रकाशित योजना बाहेक नयाँ ६७ ओटा योजनामा बजेट विनियोजन गरेका थिए । केन्द्रमा एमाले माओवादी सहितको सरकार ढल्ने निश्चित भएसँगै मन्त्री शाहले फागुन १६ गते ती आयोजनामा २३ करोड २० लाख रुपैंया पठाएका हुन ।

यतिसम्म कि २३ करोड २० लाख रकमको अख्तियारी मन्त्री शाहले पठाई सक्दा पनि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले त्यसको सुईको सम्म पाएनन् । मुख्यमन्त्री शर्माले नै थाहा नपाएको कुरा अन्य मन्त्री तथा सांसदहरुलाई भने भनक नै लागेको थिएन ।

मन्त्री शाहले यसरी आफ्नै वडामा आफन्तलाई नामै किटेर बजेट पठाएपछि एमाले दैलेखका कार्यकर्ताहरु आक्रोशित बनेका छन् । ‘उहाँलाई जिताउन हामीले कम मेहनत गरेका थिएनौं । हाम्रो स्थानमा कतै बजेट आएन ।’ आठबीस नगरपालिकाका एक कार्यकर्ताले भने, ‘स्वकीय देखि मन्त्रीकै वडामा बजेट जानु र त्यसमा पनि आफन्तलाई नै उपभोक्ता समितिको अध्यक्ष बनाउनुको पछाडी गम्भीर रहस्य छ भन्ने मलाई लाग्छ ।’

उनले मन्त्री शाहले सुरुमा बजेट पठाएको भनेर खुशी भइएपनि अहिले भने आत्मग्लानी भएको समेत बताए ।

यता, उनका प्रमुख स्वकीय सचिव नेत्र विष्टले भने उनिहरुको नाम लेख्नुको कारण कार्यकर्ता भएका कारण योजना परिचालन गर्नु भन्ने रहेको दाबी गरे । ‘उहाँहरु कार्यकर्ता हो नि । गएको योजना कार्यान्वयन गर्नुहोला भनेर त्यसरी नाम लेखेर पठाइएको हो । अरु केहि होईन ।’ उनले यसअघिका मन्त्रीहरुले पनि करोडौं बजेट बाँडेकाले त्यसैको निरन्तरता स्वरुप बजेट विनियोजन गरिएको दाबी समेत गरे ।

 


सम्बन्धित समाचार