मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिदैं, काँग्रेसले विश्वासको मत बारे औपचारिक निर्णय गर्दै
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभबाट विश्वासको मत लिने भएका छन् । राप्रपाले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले आज विशवासको मत लिने भएका हुन । आज दिउसो तीन बजे बस्ने प्रदेश सभाको नवौं वैठकमा विशवासको मत लिने तयारी मुख्यमन्त्री शर्माले गरेका हुन ।
उनले विश्वासको मत लिने भएपछि माघ ६ गते प्रतिपक्षमा रहेको काँग्रेसले के गर्ला भन्ने चासो बढिरहेको बेला काँग्रेसले मुख्यमन्त्री शर्मालाई विशवासको मत दिने तयारी थालेको छ । अहिले काँग्रेस प्रदेश कार्यसम्पादन समितिको वैठक बसिरहेको छ भने यो वैठक बसिसकेपछि काँग्रेस संसदीय दलको वैठक बस्ने भएको छ ।
यता, मुख्यमन्त्री शर्मा, नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एवम कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच विहीबार साँझ झण्डै चार घण्टा लामो संवाद सम्पन्न भएको मुख्यमन्त्री कार्यालय स्रोतले पहिलोप्रेसलाई बतायो ।
‘उहाँहरुबिचमा मौखिक सहमति भइसकेको छ । आज उहाँहरुको वैठक बसेर त्यसलाई औपचारिक निर्णय दिनुहुने सहमति भएको छ ।’ स्रोत भन्छ, ‘विश्वासको मत दिइसकेपछि सत्ता समिकरणबारे लिखित या मौखिक रुपमा सहमति बन्नेछ । हाललाई काँग्रेसले विश्वासको मत दिन्छ भन्नेमा हामी विश्वस्त भएका छौं ।’
नेपाली काँग्रेसका नेता शाहीले आफू मुख्यमन्त्री पदको दावेदार रहेको बताउँदै आएका छन् । अन्य प्रदेशमा काँग्रेसको मुख्यमन्त्री बनिसकेका र त्यहाँ माओवादीले विशवासको मत दिइसकेका कारण कर्णालीमा पहिलो कार्यकाल माओवादीलाई विश्वासको मत दिनै पर्ने बाध्यतामा कर्णाली काँग्रेस छ ।
यदि विश्वासको मत काँग्रेसले नदिएको खण्डमा यसले केन्द्रको गठबन्धनमा समेत असर पर्ने भएपछि दोश्रो कार्यकालमा मुख्यमन्त्री बन्ने मौखिक सहमतिसहित काँग्रेसले विश्वासको मत दिने आन्तरिक तयारी थालेको हो ।
उता, हालको सत्ता साझेदार एमाले भने ‘पर्ख र हेर’ को रणनीतिमा पुगेको छ । ‘मुख्यमन्त्री ज्यूले के चाहनुहुन्छ त्यह अनुसार हामी निर्णय गर्छौं । हामीले यसमा धेरै केहि बोल्न र गर्न आवश्यक छैन ।’ एमाले उपसचिव एवम् सामाजिक विकास मन्त्री टेकराज पछाईले पहिलोप्रेसलाई भने ।
कर्णालीमा सबै दल मिलेर जानुपर्ने धारणा भने मुख्यमन्त्री शर्माले राख्दै आइरहेका छन् ।
पहिलोप्रेस
१७ चैत्र २०७९, शुक्रबार ०९:३५