चौकुनेका सुख्खा गाउँवस्तीमा डिप वोरिङ्गमार्फत ल्याइयो पानी

सुर्खेत ।
चौकुने गाउँपालिका वडा नं. नौ घाटगाउँकी मन्जु विक अहिले खुशी देखिएकी छिन् । हिउँदयाम होस, वा वर्षायाम होस, कर्णाली नदिको धमिलो पानी पिउन बाध्य मन्जु यतिबेला घरछेउमै डिप वोरिङ्गमार्फत पानी झर्दा फुरुङ्ग बनेकी हुन ।
‘पहिला हामीले पिउने पानी भनेकै कर्णाली नदिको पानी हो । उक्त पानीलाई नै हामीले खानेपानीको रुपमा विगत लामो समय देखि नै प्रयोग गर्दै आइरहेका थियौं ।’ मन्जु भन्छिन्, ‘अहिले वोरिङ्गमार्फत पानी घरमै आइपुगेको छ । यसले हामीलाई ठूलो राहत दिएको छ ।’

कृषि विकास निर्देशनालयले सिंचाई गर्नकालागि भनेर सम्पन्न गरेको उक्त आयोजनालाई हाल उक्त गाउँका वासिन्दाले खानेपानी स्रोतको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।
उक्त आयोजनाले ७३ घरमा पानी पु¥याएको छ भने अब तरकारी खेति गर्नेतर्फ लाग्ने उपभोक्ता समितिका अध्यक्ष रतन टमटाले बताए ।
‘अहिले खानेपानीको स्रोतको रुपमा हामीले प्रयोग गर्दै अब हामी ट्यांकी निर्माण गरेर यो पानीलाई तरकारी खेतिमा पनि प्रयोग गर्छौं ।’ उनले भने, ‘विगतमा नदिबाट पानी बोक्नुपर्ने अवस्था भएका कारण यहाँ तरकारी खेति शुन्य थियो । अब हामी सबै तरकारी खेति गर्छौं ।’
चौकुने गाउँपालिकाको वडा नं. नौ र दशमा वडामा मात्रै चालु आर्थिक वर्षमा ११ ओटा डिप वोरिङ्गमार्फत पानी निकालिएको छ । यी आयोजनाबाट कम्तिमा पनि ७० विगाहा जमिनमा तरकारी खेति गर्न सकिने कृषि विकास निर्देशनालयका निमित्त प्रमुख चित्र रोकायाले बताए ।
‘केहि दिन अघि मात्रै यहाँ पानी झरेको हो । सुख्खा क्षेत्र भएका कारण हामीले यहाँका नागरिकको जीवनस्तर उक्सियोस र तरकारी खेतिमार्फत आयआर्जन गरेर भारत जाने प्रचलन अन्त्य होस भनेर यहाँ लगानी गरेका हौं ।’ उनी भन्छन्, ‘अब यहाँका किसानले तरकारी खेतिमा ध्यान दिनपर्छ । यहाँ तरकारी उत्पादन गर्न सकिएको खण्डमा नजिकै रहेको कर्णाली चिसापानीमा विक्री गर्न सकिन्छ । सुर्खेत पनि ल्याएर विक्री गर्न सकिन्छ ।’
निर्देशनालयले चौकुने गाउँपालिकाको सबैभन्दा बढि जनसंख्या भएको र सबैभन्दा बढि सुख्खा भूमि रहेको वडा नं. सातमा पनि डिप वोरिङ्ग निर्माण गरेको छ । यहाँ सञ्चालित नौ ओटा आयोजना मध्ये ६ ओटा आयोजनामा सिंचाईका लागि पर्याप्त पानी आएको पाइएको छ भने वाँकी तीन ओटा आयोजनामा भने पानी राम्रोसँग आएको देखिएन ।
सान्नेघारी, कालिकास्थानलगायतका वोरिङ्गमा पानी आएको छैन । यस्तै वडा नं. ८ को मिलन चोक र बसन्तपुर आयोजनामा पनि सोचेअनुसार पानी नआएको पाइएको हो ।
‘पानी आएका स्थानमा कृषकलाई सुखबाट राहत दिन र उनिहरुलाई तरकारी तथा फलफूल खेति गर्न पर्याप्त पानी आएकाृे छ । यसलाई जुन प्रयोजनाका लागि निर्माण गरिएको हो त्यसैमा ध्यान दिएर अघि बढन आवश्यक छ ।’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले भने, ‘पानी कम आएका, लेदो आएका आयोजनामा फेरि परिक्षण गर्ने वा वास गराउनुपर्ने देखिएको छ । वास गराएर अघि बढन सम्वन्धित उपभोक्ता समूहलाई हामीले निर्देशन दिइसकेका छौं ।’
उक्त प्रदेश सभाबाट निर्वाचित सांसद विन्दमान विष्टले चौकुनेमा सुख्खा क्षेत्र धेरै भएको बताउँदै यहाँ सिचाईलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके चौकुने समृद्धिको आधार बन्न सक्ने बताए ।
‘यहाँका ठूला फाँटहरुमा सिचाई उपलब्ध गराउन सकेको खण्डमा कृषकले पर्याप्त मात्रामा कृषिजन्य उत्पादन गर्न सक्छन् ।’ उनि भन्छन्, ‘त्यसो हुन सकेको खण्डमा चौकुनेलाई समृद्ध बनाउन सकिन्छ ।’
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले अहिले सम्पन्न भएका आयोजनाबाट लाभ लिन कृषकलाई अनुरोध गरे । ‘सिचाई घरमै आइपुगेको छ । यो पानीलाई कसरी रुपैंयामा बदल्ने भन्ने तर्फ तपाईहरु लाग्नुहोस ।’
उनले भने, ‘त्यसकालागि बजार आवश्यक भए वा अन्य केहि सहयोग आवश्यक परे हामी सहयोग गर्न तयार छौं । तर तपाईहरुले तरकारी होस या फलफुल खेतिमार्फत भएपनि उत्पादन बढाउनुहोस । अहिले देखिएका नांङ्गा डाँडा अर्कोपटक आउँदा तरकारी तथा फलफुलमय बनेको हेर्न पाइयोस ।’









पहिलोप्रेस
२३ चैत्र २०७९, बिहीबार ०९:०५