Loading... आजः १ कार्तिक २०८२, शनिबार

सामाजिक विकास मन्त्रालयको हास्यास्पद अभियानः लैङ्गिक हिंसा अन्त्य गर्न पर्यटकीय गन्तव्यमा मोटरसाईकल र्याली !

सुर्खेत ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत महिला तथा बालबालिका शाखाले हास्यास्पद अभियान सुरु गर्ने जमर्को गरेको छ । ‘लैङ्गिक हिंसा, असमानता, विभेद र दुर्ब्यबहार विरुद्ध बालिका÷महिला शसक्तिकरण, मर्यादित महिनावारी र शान्तिकालागि कर्णालीका मोटरसाईकल चालक महिलाहरुको अभियान’ सुरु गर्ने भनेर सूचना प्रकाशन गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

देशमा आर्थिक संकट बढिरहेको समयमा मोटरसाईकल र्यालि निकालेर ‘रमाईलो’ गर्ने बाहेक यो कार्य अनुत्पादक रहेको अधिकांशको भनाई छ ।

‘हामीले यस्तो कार्यक्रम नगरौं । बरु विभेद विरुद्ध जनचेतनामूलक कार्यक्रम गरौं । यस्ता कार्यक्रमले महिलालाई सबलीकरण गर्न होइन झन परनिर्भर बन्न सहयोग पुग्न सक्छ भनेर सुझाव दिएका हौं ।’ मन्त्रालयका एक कर्मचारीले भने, ‘शाखा प्रमुखले हाम्रो कुरा नसुनेपछि हामीले के भन्ने ?’

सूचनामा उक्त र्यालि चैत ३० गते काँक्रेविहारबाट सुरु हुने सूचनामा उल्लेख छ । उक्त दिन विहान सात बजे काँक्रेविहारबाट प्रस्थान गर्ने, गुराँसे, कोटिला, श्रीस्थान, नाविस्थान, धुलेश्वर, पादुका, बालेश्वर, किर्तिखम्ब हुँदै वीरेन्द्र चोक सुर्खेत आउने कार्यक्रम तय गरिएको छ ।

सूचनामा उल्लेख गरिएको नारा झैं न त कतै जनचेतनामुलक कार्यक्रम गर्ने भनिएको छ, न त कुनै अरु कार्य गर्ने उल्लेख छ । मोटरसाईकल चलाउन जान्ने महिलाहरुलाई पर्यटकीय भ्रमण गराउने मुख्य उदेश्य बाहेक यो कार्यक्रमको अरु केहि पनि छैन ।

र्यालीमा सहभागिलाई मन्त्रालयले तेल दिनेछ भने दुई समय खाजा खुवाउने कार्यक्रम छ । यस्तै एक समय खाना पनि खुवाउने कार्यक्रम राखेको छ । यसका अलावा सहभागि सवारीका लागि एक झण्डा दिईनेछ भने एक ड्रेस समेत उपलब्ध गराईने भएको छ ।

यसरी हेर्दा मन्त्रालयले हालसम्म कति खर्च लाग्ने भन्ने अनुमान नगरेको शाखा प्रमुख अनिता ज्ञवालीले बताईन । ‘माथि उल्लेख गरिएको नारा जस्तै कार्यक्रम हो । कति खर्च लाग्छ भन्ने कुरा अहिले भन्न सकिदैन । कतिजना सहभागि हुन्छन, त्यो हेरेपछि र खर्च भइसकेपछि मात्रै यति खर्च भयो भनेर भन्न सकिएला ।’

उनले भनिन्, ‘यो एक खालको र्यालि नै हो । हामी दैलेखको दुल्लुमा एक सय जना जति बुहारी राखेर लैङ्गिक हिंसाबारेमा जानकारी पनि दिन्छौं ।’

 


सम्बन्धित समाचार