कर्णाली सरकारबारे केन्द्रीय गठबन्धनले निर्णय गर्छः उपमहासचिव शर्मा
सुर्खेत ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले कर्णाली लगायतका प्रदेश सरकारबारे केहि दिनमै केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । उनले प्रदेशमा अहिलेजस्तो अलमल नहुने गरि निकास निकालिने दाबी समेत गरे ।
उनले अबको केही दिनभित्रै समाजवादी मोर्चाको घोषणा हुने बताए । आन्तरिक रुपमा तयारी तीब्र भइरहेको भन्दै शर्माले अबको केही दिनमा घोषणा गर्ने गरि छलफल भइरहेको बताए ।
बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको संगठन विभागको कार्यक्रममा बोल्दै शर्माले शुक्रबार समाजवादी मोर्चाबारे छलफलका लागि बैठक समेत रहेको कार्यकर्तालाई जानकारी गराए ।
शर्माले तीन दलहरुकाबीच समाजवादी मोर्चा बन्दै गरेको बताए । यद्यपि कुन–कुन दलहरुबीच हो त्यो भने खुलाएनन् ।
समाजवादी मोर्चाबारे माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाबीच सैद्धान्तिक सहमति भइसकेको र घोषणा हुन् मात्र बाँकी रहेको नेताहरुले बताउँदै आएका छन् ।
शर्माले माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे । उनले अगाडि भने, ‘माओवादीले सामाजिक, सांस्कृतिक अभियानलाई अगाडि बढाउनुपर्ने छ । त्यसका विविध खालका कुराहरु आउँछन् । यो अभियानलाई सार्थकता तुल्याउने गरि अघि बढ्नुनै आजको आवाश्यकता हो । यही नै समाजवादी यात्राको जग हो ।’
शर्माले यही अभियानका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्नुपर्ने तर्क राखे ।
उनले माओवादीलाई अब नयाँ तरिकाले अगाडि बढाउनुपर्ने बताए ।
पहिलोप्रेस
२३ चैत्र २०७९, बिहीबार १८:४३