उपमहासचिव शर्मालाई पहिलोप्रेसकाे प्रश्नः कर्णालीबाट तपाई र शक्ति बस्नेत मात्रै आलोपालो मन्त्री बन्ने हो ?
सुर्खेत ।
केन्द्रमा भएको सत्ता गठबन्धनसँगै अबको केहि दिनमा कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागि हुने निश्चित भएको छ । माघ ६ गते एमालेको सर्मथनमा पहिलोपटक विश्वासको मत लिएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले चैत १७ गते फेरि विश्वासको मत लिएका थिए ।
उनलाई अघिल्लो पटक विश्वासको मत नदिएको नेपाली काँग्रेसले समेत विश्वासको मत दिएको थियो । एमाले सरकारबाट त्यतिबेलै बाहिरिने आशंका गरिएपनि एमालेले समेत विश्वासको मत दिएको थियो ।
यहि सन्दर्भमा सुर्खेत विमानस्थलमा प्रेस संगठन नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले केहि दिनमै केन्द्रको राजनीतिक संयन्त्रबाट कर्णाली प्रदेश सरकारलाई सरकारमा एमाले हटाएर काँग्रेसलाई सहभागि गराउन निर्देशन आउने बताएका हुन ।
‘यो अलमल धेरै रहँदैन । केन्द्रीय गठबन्धनको नेतृत्वले केहि दिनमै यहाँको अलमल हटाउने गरि निर्देशन दिन्छ ।’ पहिलोप्रेसको प्रश्नको जवाफ दिदैं उनले भने, ‘एमालेसँग हाम्रो त्यस्तो ‘डिपलभ’ परेको छैन । यहाँ काँग्रेस सरकारमा सहभागि हुन्छ । आलोपालो सरकारको नेतृत्व गर्ने गरि काँग्रेस र माओवादीबीचमा सहमति भइसकेको छ ।’
नेता शर्माले आज विहान नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँग यसबारेमा गम्भीर छलफल भएको समेत खुलाए ।
पूर्व अर्थमन्त्रीसमेत रहेका नेता शर्माले तत्काल शर्मा नेतृत्वको सरकारमा काँग्रेसका मन्त्रीहरु सहभागि हुने र एमालेले पाएको सभामुखलाई नचलाईने बताए ।
कर्णालीबाट तपाई र शक्ति बस्नेत मात्रै आलोपालो मन्त्री बन्ने हो ? भन्ने पहिलोप्रेसको प्रश्नको जवाफ दिदैं नेता शर्माले आफू यो कार्यकालभरि मन्त्री नबन्ने बताए ।
‘म यो कार्यकाल भरि मन्त्री बन्दिन ।’ नेता शर्माले भने, ‘म पार्टी बनाउने काम गर्छु ।’
पहिलोप्रेस
२४ चैत्र २०७९, शुक्रबार ११:३२