अप्राकृतिक गठबन्धन भत्काएको भन्दै रमाएका उपप्रधानमन्त्री खड्काको सुर्खेत विमानस्थलमा रमिता
शेरबहादुर थापा/सुर्खेत ।
नेपाली काँग्रेसका उपसभापति एवम वर्तमान सरकारका उपप्रधान एवम रक्षा मन्त्री पूर्णबहादुर खड्काले आज सुर्खेत विमानस्थलमा ओर्लदा कच्चा काम गरेका छन् । नेपाली काँग्रेसको राजनीतिक ईतिहासमा झण्डै २० वर्ष भन्दा बढि त्याग तपस्या गरेका, कर्णाली प्रदेशबाटै सबैभन्दा ठूलो पार्टी एवम राज्यसत्ताको पदमा पुग्न सफल भएका खड्काले विमानस्थलमा उत्रने वित्तिकै ‘माटो’लाई ढोग गरेका थिए ।
उनले ढोगेको उक्त तस्वीर अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ । यसअघि पाँच पटक मन्त्री भइसकेका खड्काले मन्त्री भएको समयमा मात्रै यसरी ढोग्नु भनेको सस्तो लोकप्रियता कमाउनु एवम राजनीतिक स्टन्टवाजी गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
एमाले, माओवादी लगायतका दलहरुबीच पुस १० मा भएको गठबन्धनलाई अप्राकृतिक भएको भनेका खड्काले आफूले उक्त गठबन्धन भत्काएर चुनावअघिको गठबन्धन व्यूंताउन सफल भएको भन्दै पत्रकार सम्मेलनमा बोल्न भ्याएका थिए तर उनै उपप्रधानमन्त्री खड्काले माटो ढोग्दै गर्दा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा भने जहाजको भ¥याङमै उभिएर उक्त ‘रमिता’ हेरिरहेका थिए ।
उपसभापति खड्काले माटोलाई ढोगिसकेपछि उनी निकटका कार्यकर्ताहरुले बडो तामझामका साथ उनको स्वागत गरेका थिए तर उनै खड्काले भनेको हालको प्राकृतिक गठबन्धनका मुख्यमन्त्री शर्मा भने ‘जाम’मा परेका थिए ।
खड्कालाई सम्मान गर्ने कार्यकर्ताले न त मुख्यमन्त्री शर्मातर्फ कुनै ध्यान दिए न त प्रहरी प्रशासनले मुख्यमन्त्रीलाई त्यहाँबाट तत्काल बाहिर ल्याउन कुनै चासो दियो ।
मानौं, त्यहाँ ‘राजतन्त्रकालका राजा’को आगमन भएको थियो । ठिक त्यसैगरी उपप्रधानमन्त्री खड्काका कारण मुख्यमन्त्री शर्माले झण्डै दश मिनेट रनवेको छेउमा हात बाँधेर उभिनु परेको थियो ।
त्यतिसम्म त ठिकै थियो, कर्णालीमा सत्ता परिवर्तनको खेलमा काँग्रेस सहभागि भइसकेको र सरकारमा जान खुट्टा उचालिसकेको अवस्थामा नेता खड्काले मुख्यमन्त्री शर्मालाई पत्रकार सम्मेलनमा जान भनेर न त कुनै प्रस्ताव गरे न त मुख्यमन्त्री शर्माको कुनै वास्ता नै गरे ।
यसबाट उपप्रधानमन्त्री खड्काको कर्णाली प्रदेश सरकारमा माओवादी नेतृत्वलाई हेर्ने नजरमा फरकपन प्रष्ट देखिएको छ ।
उसो त, पत्रकार नविन शाही र यज्ञ खत्रीले पत्रकार सम्मेलनमा कर्णाली सरकारबारेको प्रश्न सोध्दै गर्दा चित्त बुझ्दो जवाफ दिएनन् । चुनाव अघि जीवनबहादुर शाहीलाई पहिलो मुख्यमन्त्री बनाउने भन्ने प्रतिबद्धता अनुसार अघि बढने वा यहि सरकारमा सामेल हुने भन्ने विषयमा उनले मुख नखोल्नुले उपप्रधानमन्त्री खड्काको बोली र व्यवहारमा भिन्नता देखिएको छ र कर्णालीको माओवादीमा थप अविश्वास पैदा गरिदिएको छ ।
पहिलोप्रेस
२५ चैत्र २०७९, शनिबार १५:२९