अपाङ्गता भएकाहरुको मागः पूर्वाधार संरचना अपाङ्गतामैत्री बनाउनुपर्यो
सुर्खेत ।
कर्णाली प्रदेशका अपाङ्गता भएकाहरुले कर्णाली प्रदेश सरकार, स्थानीय र संघीय सरकारले बनाएका र बनाइरहेका भौतिक पूर्वाधार संरचना अपाङ्गतामैत्री नभएको गुनासो गरेका छन् ।
आज वीरेन्द्रनगरमा सुर्खेत अपाङ्ग समाजले आयोजना गरेको एक कार्यक्रममा उनिहरुले राज्यले नै आफूहरुलाई पीडा दिइरहेको गुनासो गरेका हुन ।
अपाङ्गता भएकाहरुका लागि सार्वजनिक विद्यालय, शौचालय देखि वैंक अनि कार्यालयहरु मैत्री नभएको बताउँदै यस्ता संरचनालाई सुधार गर्नुपर्ने, पुराना संरचना भएका कार्यालयहरुले हेल्प डेस्क स्थापना गरेर अपाङ्गता भएकाहरुलाई सेवा दिनुपर्ने तथा अब बन्ने नयाँ संरचनाहरु अपाङ्गतामैत्री बनाउनुपर्ने माग उनिहरुको छ ।
अपाङ्गता भएकाहरुलाई क्षमता भएपनि कार्यालयमा अविश्वास गर्ने, सहायक सामाग्री प्रदेश राजधानीमा नै उपलब्ध हुन नसक्ने अवस्था रहेको, रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको, विद्यालय शिक्षा तथा उच्च तहमा अध्ययन गर्न भौतिक संरचनाले मुस्किल बनाइदिएको, टोल विकास संस्थामा पहुँच नभएको जस्ता दर्जनौं समस्याबाट अपाङ्गता भएका नागरिक गुज्रिनु परिरहेको उनको भनाई थियो ।
कार्यक्रममा अधिकारकर्मी टीका विष्टले वीरेन्द्रनगरका १४ ओटा वडामा गरेको अध्ययन तथा निष्कर्षको प्रस्तुति दिएकी थिईन ।
अपाङ्गता भएकाहरुको गुनासो सुनेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीेले अब प्रदेश सरकारले अपाङ्गता भएका नागरिकका लागि आवश्यक नीति तथा कार्यक्रम एवम बजेट ल्याउने बताए ।
‘हामी सुरुमा कानून निर्माण गर्ने काम गर्छौं । त्यसपछि सोही अनुसारका संरचना निर्माण गर्ने र अपाङ्गता भएकाहरुका लागि आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्थापन गर्छौं ।’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री जिसीले भने, ‘संविधानको धारामा टेकेर अघि बढनको विकल्प छैन ।’
पहिलोप्रेस
३० चैत्र २०७९, बिहीबार १२:२७