कर्णालीका पूर्व मुख्यमन्त्री शाहीको जिल्लामा सामूदायिक क्याम्पसको दयनीय अवस्था
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री भइसकेका एवम अबको साढे दुई वर्ष पछि कर्णाली प्रदेशको दोश्रो पटक मुख्यमन्त्री बन्ने करिब निश्चित भएका नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीको गृहजिल्लामा सामूदायिक क्याम्पसको दयनीय अवस्था देखा परेको छ ।
शैक्षिक विकास विना समाजको विकास हुन नसक्ने बताउँदै आएका पूर्व मुख्यमन्त्री शाहीको गृहजिल्ला हुम्लाको अदानचुली गाउँपालिकास्थित गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ । बजेट अभावका कारण दुईकोठे भवन निर्माणाधीन अवस्थामा छ ।
सरकारी बजेट सदुपयोग गर्दा सरकारी संस्थाले कम्तिमा जग्गाको भोगाधिकार लिनुपर्ने वा जग्गा संस्थाकै नाममा हुनुपर्ने व्यवस्था कानूनमा भएको भएपनि क्याम्पसले न त जग्गा प्राप्ती गर्न सकेको छ भने न त भवन पूर्ण गर्न सकेको छ ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८मा उक्त भवन निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन भएको क्याम्पस प्रमुख रणसुर रोकायाले बताए ।
भवन निमार्णको लागि जग्गा खरिदलगायत काम गरेपछि बजेट अपुग भएको उनको भनाइ छ । गत आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको रोकाया बताउँछन् ।
‘भवन निमार्णका लागि आवश्यक जग्गा खरिद गर्न पाँच लाख ५० हजार र जग्गा सम्याउन एक लाख २८ हजार रुपैयाँ खर्च भएको थियो ।’ उनले भने, ‘बजेटका लागि गाउँपालिका र अन्य निकायसँग आग्रह गरे पनि सहयोग पाउन सकेका छैनौँ । क्याम्पसलाई आर्थिक र भौतिक पूर्वाधारको अभाव छ ।’
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या भएको छ ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि क्याम्पस स्थापना गरिएको हो । त्रिविले मानविकी सङ्कायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख रोकायाले बताए ।
त्रिभुवन विश्वविद्यालयले बर्सेनि अनुदान रकम दिने भए पनि त्यो पर्याप्त नभएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दल फडेराले बताए । ‘भवन निर्माण र कर्मचारीलाई तलब दिन रकम छैन, स्रोतको खोजीका लागि भौँतारिरहेका छौं’ उनले भने । विद्यार्थीबाट शुल्क लिएर क्याम्पस सञ्चालन गर्न सम्भव नभएको उनको भनाइ छ ।
क्याम्पसको भवन निर्माण गर्न रु साढे पाँच लाख खर्च भएको थियो । अदानचुली–३ का पूर्ववडाध्यक्ष दत्त विष्टले भने, ‘जग्गाको लालपुर्जा क्याम्पसको नामामा बनाउन सकिएको छैन ।’
जग्गाधनीले भवन निमार्णका लागि प्रयोग भएको जग्गा गल्फागाड बहुमुखी क्याम्पस श्रीनगरका नाममा रजिष्ट्रेसन पास गर्न मानेका छैनन् ।
अहिले कर्णाली प्रदेश सभामा यस प्रदेश निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रका नेता रणसिंह परियार विजयी भएका छन् । हालका क्याम्पस सञ्चालक समितिका अध्यक्ष दल फडेरा निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन ।
यो निर्वाचन क्षेत्र नेकपा एमालेका केन्द्रीय सदस्य एवम निवर्तमान सांसद एवम पूर्व सामाजिक विकास मन्त्री दल रावलको निर्वाचन क्षेत्र हो । उनकै पालामा यो विद्यालयमा बजेट विनियोजन भएको थियो ।
पहिलोप्रेस
२ बैशाख २०८०, शनिबार १७:३८