हामी माफी माग्दैनौं, भोलीबाटै आफ्नै पालिकाको गाडी सञ्चालन गर्छौंः अध्यक्ष विक
सुर्खेत ।
चौकुने गउँपालिकाका अध्यक्ष खड्क विवश विकले संयुक्त यातायात व्यवसायीको नाममा चौकुने गाउँपालिकाका नागरिकलाई ४३ दिनदेखि नाकावन्दी गरिएको बताएका छन् ।
आज जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यातायात व्यवसायी, पालिकासहित सर्वपक्षीय वैठक बस्ने तयारी भइरहेको समयमा पहिलोप्रेससँग कुराकानी गर्दै अध्यक्ष विकले आफूहरुले कुनै अन्याय नगरेको बताउँदै यातायात व्यवसायीले भनेजस्तो माफी नमाग्ने बताएका छन् ।
प्रस्तुत छ अध्यक्ष विकसँग गरिएको कुराकानीको सारसंक्षेप उनकै शब्दमा:
हाम्रो चौकुने गाउँपालिकामा विगत ४३ दिन देखि सामुदायिक यातायात सञ्चालन नहुँदा समस्या भएको बताउँदै संयुुक्त यातायात व्यवसायीहरुसँग दुई दर्जन भन्दा बढि पटक कुराकानी गरेको छु ।
मैले संयुक्त व्यवसायीको प्रतिनिधि दिपेन्द्र जोशीसँग दुई दर्जन पटक कुरा गरेको छु । बाटो विग्रेको भनेर भनेका कारण पञ्चपुरी नगरपालिकाको क्षेत्र गुठु खोला देखि भरत कटेजसम्मको छ सय मिटर बाटो पालिकाको र मदन भण्डारी राजमार्गको टिप्पर लगाएर मर्मत गराएको छु ।
उहाँलाई मैले बाटो बनाएको समेत देखाएको हो । उहाँले बाटो ठिक छ भनेर भनेपछि दुई ओटा गाडी बीचमा गुठुसम्म गएका थिए तर समितिका अध्यक्षले एक जना पनि मानिस लिएर नआउनु भन्ने उर्दि ती बसवालाहरुलाई दिएपछि उहाँहरु समितिले कारवाही गर्ने डर मानेर रातारात गाडी फिर्ता लिएर आउनु भयो ।
मैले यातायात व्यवस्था सहज गरिदिन भने समितिलाई साउन १२ गते चिठि लेखेको छु । चिठिमा जहाँ गाडी विग्रिन्छ त्यहाँ पालिकाको जेसिवि आउँछ । जहाँ बाटो विग्रन्छ हामी टिप्पर पठाई बनाईदिन्छौं, तपाईहरु यहाँ आएर हामीलाई सेवा प्रदान गर्नुस भनेर मैले बारम्बार आग्रहसमेत गरें तर मेरो केहि सीप ागेन । उहाँहरुले नाकावन्दीलाई थप कडाई गर्नुभयो ।
केहि सीप नलागेपछि मैले मिडिया गुहारेको हो । मिडियाकर्मी साथीहरुले सानो गाडी लिएर गुटु पुग्नु भयो । उहाँहरुले बाटो ठिक छ भनेर पनि भन्नु भयो ।
बरु विउरेनीमा बाटो खराब भएको पत्रकार साथीहरुले जानकारी दिएका थिए ।
पत्रकारहरु त्यहाँबाट फर्किसकेपछि समितिले दुई जनालाई गोप्य रुपमा पठाएको रहेछ । बाटोको अवस्था के छ भनेर बुझ्न उनिहरु गएका रहेछन् । त्यहाँ उहाँहरु होटलमा जानु भएछ, के के खाने काम गर्नुभएछ । हामीलाई जानकारी नै नदिई उहाँहरु फिर्ता हुनुभयो । उहाँहरुले बाटो खराब छ भन्ने रिर्पोट आफ्नो अध्यक्षलाई दिनु भएछ ।
अच्चम त के छ भने विद्यापुरसम्म जम्मा भाडा पाँच सय लाग्छ, तर उहाँहरुले १९ सय रुपैंया असुल्दै आइरहेका छन् । उहाँहरुले विद्यापुरसम्म गाडी लिने तर भाडा भने लगामसम्मको असुल्नु गलत हो ।
आज वार्ता हुन्छ । वार्ताबाट नतिजा ननिस्ेको खण्डमा हामी आजै गाडी भाडामा लिएर भएपनि भोलीबाट नागरिकलाई सेवा प्रदान गर्छौं । अब नीजि गाडी सञ्चालन गरिदिनुस भनेर हामी आत्मसर्मपण गर्दैनौं । उहाँहरुले भनेजस्तो माफी माग्नुपर्ने कुनै कारण छैन ।
४३ दिनसम्म नाकावन्दी उहाँहरु गर्ने, मनलाग्दी भाडा असुल्ने अनि माफी हामीले माग्नुपर्ने ? अहँ यो हुनै सक्दैन । माफी उनिहरुले माग्नपर्छ ।
बच्चा बोकीकी महिला, ८३ वर्षका ज्येष्ठ नागरिक, चौकनुेको अध्यक्ष पराल ओच्छाएर टिप्पर माथि यात्रा गरेको छ । नागरिकहरु वर्षायाममा टिप्परमै बसेर भएपनि यहाँ आउन बाध्य भएका छन् । यो भनेको संघीय सरकार, प्रदेश सरकार,मानवअधिकारकर्मी, प्रशासन सबैका लागि लाजको थुप्रो हो । यो तस्वीर हेर्न उहाँहरुले लाज मान्नु पथ्र्यो ।
मैले यसबारेमा प्रशासनसँग बारम्बार कुरा गरेको छु । विपदको वैठकमा विशेष समय लिएर प्रश्न गरेको छु ।
पाँच सय तिर्ने स्थानमा १९ सय किन तिराइएको हो । तरकारी बोकेको, चामल तेल बोकेको गाडी लगाम पुगेको छ, ती गाडी किन नपुगेका हुन ? ती गाडी लगामसम्म कसरी गएका छन् ? प्रश्न यो हो ।
मलाई लाग्छ, संयुक्त व्यवसायी समितिले गरेको यो कार्य सरासर कालो बजारीया हो । जहाँ बाटो विग्रेको अवस्थामा सुधार गर्दिन्छु । संयुक्त नेपाली यातायातका अध्इक्षको चरित्र नांगो भएको छ । यसलाई हामी कुर्न सक्दैनौ ।
वीरेन्द्रनगरको डल्फिन होटलदेखि दुई टिप्परबाट र गुठु देखि दुइ टिप्परबाट आज पनि हामीले सेवा दिइरहका छौं ।
भोलीबाट पालिकाले आफ्नै गाडी सञ्चालन गर्छ । गाडी भाडामा लिएर भएपनि हामी चौकुनेवासी आमाबुवा दाजुभाईलाई सास्तीबाट मुक्त गर्छौं । नीजि गाडीमा नमस्कार गरेर लगिदिनुस भनेर भन्दैनौं ।
बस सञ्चालनबारेमा चौकुनेका जनतासँग मिलेर सहकारी मार्फत चलाउने योजना छ । नागरिकहरुसँग सल्लाह गरेर हामी अघि बढछौं ।
पहिलोप्रेस
२१ श्रावण २०८०, आईतवार ०९:३०