समतामूलक समाज निर्माणमा अग्रसर बनौंः प्रदेश प्रमुख परियार
सुर्खेत ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानले समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको बताउँदै उक्त बाटोतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
२९ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले कर्णाली प्रदेशवासी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना समेत दिएका छन् ।
‘पहिचान र अधिकारको सुनिश्चितताको लागी आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवद्र्धन गर्दै पुख्यौली भुमि, भाषा र संस्कृति संरक्षण गरौं’ भन्ने मुल नाराका साथ र संयुक्त राष्ट्र संघले सन १९९४ मा आदिवासी जनजातिका आधारभुत मानवअधिकार संरक्षण र सम्बर्धनका लागी अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरका आदिवासी जनजातिहरुले यस दिवस मनाउदैं आएइको हो ।
‘बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलीक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गिय, जातिय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङगीक विभेद तथा सबै प्रकारका जातिय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशि र सहभागीतामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प नेपालको संविधानले गरेको छ ।’ सन्देशमा उनले भनेका छन्, ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफनो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्धन एवं संरक्षण गर्ने मौलिक हकको व्यवस्था समेत संविधानमा स्पष्ट उल्लेख छ । संवैधानिक र कानुनी रुपमा प्राप्त आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक राजनतिक र आर्थिक अधिकारको व्यवहारमा प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताको लागी शान्तिपुर्ण, संबैधानिक र लोकतान्त्रिक माध्यमबाट अघि बढ्ने तथा राष्ट्रिय आकांक्षालाई पुरा गर्न साझा दायित्व बोधकासाथ एकतावद्ध भई लाग्न आजको दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस भन्ने कामना गर्दछु ।’
यस दिवसले सबै नेपालीबिच सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य समाज सामाजिक न्याय, सुशासन, सम्वृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुने सबैलाई प्रेरणा मिल्ने अपेक्षा समेत गरेका छन् ।
पहिलोप्रेस
२४ श्रावण २०८०, बुधबार ०७:४४