कर्णाली प्रदेश सभा नियमावली तेस्रो पटक संशोधन गरिँदै, सभापतिमा विष्ट
सुर्खेत ।
कर्णाली प्रदेश सभा नियमावली २०७४ लाई तेश्रो संशोधन गर्न प्रदेश सभाले हिक्मत विष्टको सभापतित्वमा नौ सदस्यीय समिति गठन गरेको छ ।
२०७४ सालमा निर्माण गरिएको उक्त नियमावली सदनमा दोश्रो कार्यकालका सांसदहरु आएपछि तेस्रोपटक संशोधन हुन लागेको हो ।
समितिमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेबाट दुई दुई जना सदस्य छानिएका छन् भने राप्रपा, नेकपा एस र स्वतन्त्रबाट एक एक जना छानिएको प्रदेश सभाका कानून उपसचिव तेजप्रकाश ओलीले जानकारी दिए ।
उनका अनुसार नेपाली काँग्रेसबाट हिक्मत विष्ट र पूर्णबहादुर खत्री, नेकपा माओवादी केन्द्रबाट रणसिंह परियार र महेन्द्र केसी, नेकपा एमालेबाट टेकराज पछाई र विनोद कुमार शाह रहेका छन् ।
यस्तै, राप्रपाबाट सन्तोषी शाही, नेकपा एसबाट कल्याणी खड्का र स्वतन्त्र सांसद देवेन्द्र शाही सदस्य रहेका छन् ।
आजै नियमावली संशोधन समितिका सभापति हिक्मत विष्टलाई सभामुख नन्दा गुरुङ्गले सपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।
पहिलोप्रेस
२५ श्रावण २०८०, बिहीबार ०९:३८