Loading... आजः ४ पुष २०८१, बिहीबार

सुर्खेत काँग्रेसको ‘खड्का’ प्यानल भयो दुई चिरा, आन्तरिक विशेष अभियानको वैठक बहिष्कार

सुर्खेत ।
नेपाली काँग्रेसको चौंधौं महाधिवेशनमा एकलौटी महाधिवेशन प्रतिनिधि लगायत जिल्ला नेतृत्व हत्याएको नेपाली काँग्रेसको संस्थापन खेमाका अधिकांश नेताहरु आज जिल्ला कार्यालयमा आयोजना गरिएको आन्तरिक विशेष अभियानको वैठकमा अनुपस्थिति जनाउँदै बहिष्कार गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम केन्द्रीय सदस्य देवेन्द्र कंडेल प्रमूख अतिथिको रुपमा उपस्थित उक्त वैठकमा उपप्रधान एवम रक्षामन्त्री तथा पार्टी उपसभापति पूर्णबहादुर खड्का प्यानलका अधिकांश जिम्मेवार नेता तथा कार्यकर्ताले वैठक बहिष्कार गरेको काँग्रेस स्रोतले जनाएको छ ।

यो सँगै सुर्खेत काँग्रेसको संस्थापन समूह दुई चिरामा परिणत भएको छ भने पूर्व मन्त्री हृदयराम थानी समूहले समेत उक्त वैठकमा सभागिता नजनाउँदा काँग्रेस सुर्खेतको उक्त अभियान अलपत्र पर्ने देखिएको हो ।

नेपाली काँग्रेसका जिल्ला सचिव देवकुमार सुवेदीले एक सूचना जारी गर्दै नेपाली काँग्रेसका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमितीका पदाधिकारी एवं सदस्यहरू, क्षेत्रिय सभापतीहरू, प्रदेश सभापतिहरू, पालिका सभापतिहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरेका थिए ।

तर उनको यो अनुरोधका वावजुद नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर दूइबाट निर्वाचित २५ जना महाधिवेशन प्रतिनिधि मध्ये १४ जनाले वैठक बहिष्कार गरेका हुन ।

वैठकमा पूर्व मन्त्री यज्ञबहादुर विसी, कालिप्रसाद शाक्य, उपेन्द्र थापा, जानकी सिंह, तिर्थजंग शाही, कलम खत्री, सत्तार वक्स, लोक बहादुर वाडा, श्याम भारती, पूर्ण राना, नारायण सापकोटा, विवेक आचार्य, चन्द्रा यादवलगायतको उपस्थिति नभएको बताइएको छ ।

जिल्ला नेतृत्वमा एकलौटी गरेको आरोप लगाउँदै आएको यो समूहले वैठक बहिष्कार गर्दा संस्थापन समूहमा प्रष्ट रुपमा दुई गुट देखा परेको पाइएको हो ।

नेपाली काँग्रेसका नेता उपेन्द्र थापाले आफू काठमाडौं जानुपर्ने भएका कारण नभ्याएर वैठकमा नगाएको बताए । ‘मेरो श्रीमती विरामी हुनुहुन्छ । भोली उपचारको लागि काठमाडौं जाँदैछु ।’ उनले भने, ‘त्यसैको तयारी गर्नुपर्ने भएका कारण आजको वैठकमा उपस्थित हुन नसकिएको हो । वैठक बहिष्कार नै गरेको होईनौं ।’

उनले यस्तो दाबी गरेपनि संस्थापन समूह भित्रै तीव्र रुपमा असन्तुष्टि बढदै गइरहेको छ । नाम खुलाएर मिडियामा आएको खण्डमा खड्का समूहले थप पेलानमा पार्ने बताउँदै एक अर्का महासमिति सदस्यले खड्का निकटका केहि व्यक्तिको हालीमुहाली बढिरहेको कारण आफूहरुमा असन्तुष्टि छाएको बताए ।

‘उहाँहरु सल्लाह गर्नुहुन्न । मनलाग्दी वैठक बोलाउने, पेलान गर्ने गरि अघि बढिरहनु भएको छ ।’ ती प्रतिनिधिले भने, ‘यस्तो अवस्थामा हामी वैठकमा कसरी सहभागि हुने भन्ने प्रश्न उठेको हो । यसलाई बहिस्कार भन्ने वा विविध कारणले अनुपस्थित भएको भन्ने त्यो तपाईकै जिम्मा ।”

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव देव कुमार सुवेदीलाई यस बारेमा प्रश्न गर्न खोज्दा उनको फोन उठेन ।

 


सम्बन्धित समाचार