अपराधी र मानव तस्करलाई सुलिमा चढाएर सजाय दिन आवश्यकः पूर्व मुख्यमन्त्री शाही
सुर्खेत ।
कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अपराधी र मानव तस्करहरुलाई सुलीमा चढाएर सजाय दिनुपर्ने बताएका छन् ।
‘देशमा अहिले अपराधीहरु बढिरहेका छन्, मानव तस्करी भइरहेको छ ।’ नक्कली भूटानी शरणार्थी प्रकरण देखि अन्य तस्करका बारेमा बताउँदै उनले भने, ‘एक–एक घटनाहरुको अनुसन्धान गरेर मानव तस्करलाई सुलीमा चढाएर सजाय दिनुपर्ने अवस्था आएको छ ।’
शनिबार वीरेन्द्रनगरमा आईसीटी फोरम नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाललाई अपराधी र मानव तस्करहरुको थलोका रुपमा विकास हुन नदिनेतर्फ अघि बढनुपर्ने बताएका हुन ।
उनले अहिले पछिल्लो समयमा देशमा आमूल परिवर्तन ल्याउ लडेको, बलिदान गरेको माओवादीमाथि सूचना प्रविधिको प्रयोग गरेर केहि तत्वले निरन्तर हमला गरिरहेको बताए । ‘देशमा अधिकार प्राप्तीका लागि लडेको नेकपा माओवादी केन्द्र विरुद्ध सूचना प्रविधि परिचालन गर्न खोजिएको छ ।’ उनले भने, ‘सूचना प्रविधि क्षेत्रले सुशासन र भ्रष्टलाई तह लगाउनु पथ्र्यो तर यहाँ जो अधिकारका लागि लड्यो उसैलाई तह लगाउने खेल भइरहेको छ । अब आइसिटी फोरमले त्यसको चिरफार गर्न सक्नुपर्छ, यहाँहरु त्यतातर्फ अग्रसर हुनुहोस ।’
उनले आइसिटी फोरम सञ्चालनमा ल्याउनुको मुख्य कारण यहि भएको बताउँदै त्यसतर्फ दत्तचित्त भएर लाग्न अनुरोध गरे ।
पहिलोप्रेस
२३ भाद्र २०८०, शनिबार १५:११