दैलेखकाे महावुमा शिक्षकको परीक्षा दिन गएका परीक्षार्थीलाई गराईयो वञ्चित
सुर्खेत ।
दैलेखको महावु गाउँपालिकामा निमावि तहको विज्ञान परीक्षामा परीक्षा दिन गएका शिक्षकलाई परीक्षा दिइरहेको समयमा गलहत्याएर बाहिर निकालिएको रहस्य सार्वजनिक भएको छ । महावु गाउँपालिका वडा नम्बर ६ मा रहेको भैरव मावि रानीवनमा २३ गते विज्ञान विषयको परीक्षा लिने क्रममा आफन्त भर्ना गर्ने उदेश्यका साथ परीक्षा दिइरहेको समयमा जीवनबहादुर शाहीलाई कोठाबाट विना आधार निकालिएको आरोप गाउँपालिकाको शिक्षा समितिलाई लागको छ ।
‘मैले परीक्षा दिइरहेको समयमा विना आधार, विना गलत क्रियाकलाप शिक्षा शाखा प्रमुख विद्यालय निरीक्षक कृष्ण ओली र प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले मेरो हात समातेर बाहिर निकालेका छन् । यो म माथिकोअन्याय हो ।’ उनले पहिलोप्रेससँग गुनासो गर्दै भने, ‘उहाँहरुले म माथि राजनीति गर्नु भयो । फरक आस्था राखेकै भरमा यस्तो गरिनु अन्यायपूर्ण कार्य हो ।’ उनले सहज रुपमा परीक्षा दिइरहेको समयमा हातै समातेर परीक्षा हलबाट गलहत्याइएको बताए ।
‘सायद उहाँहरु मैले निमावि विज्ञान दरवन्दीमा नाम निकाल्छ जस्तो लागेर होला ।’ उनले भने, ‘उहाँहरुले मलाई कोठाबाट हातपात गरेर बाहिर निकाल्नु भनेको आफन्त भर्ना गर्नकै लागि हो भन्ने मेरो बुझाई हो ।’
उक्त परीक्षामा तीन जना सहभागि भएका थिए ।
उता प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने आफूहरुले हातपात नगरेको बताए । ‘हामीले आफन्त भर्ना गर्न खोजेको भए वाँकी दुई जना मध्ये एक जनालाई छान्न सक्थ्यौं नि होईन ? परीक्षामा सहभागि बाँकी दुई जना मध्ये एक जना चरणमा लिखितमा पास भए तर उनि दोश्रो लिखित परीक्षामा फेल भएका कारण फेल भएपछि हामी पुनः विज्ञापनको चरणमा प्रवेश गर्छौं ।’ उनले भने, ‘बरु उहाँका कारणले हामीलाई महावुमा काम गर्न अप्ठ्यारो भएको छ । अहिले हामी जिल्ला प्रशासन कार्यालय दैलेखमा निवेदन दिन आइपुगेका छौं । यस्तो अवस्थामा गाउँपालिकामा बसेर काम गर्न सकिँदैन । पार्टी अध्यक्ष आएर समेत कर्मचारीलाई धम्क्याउने काम भएकोले हामी निवेदन दिन आएका हौं ।’
उनले ति परीक्षार्थीको हातमा चिट फेला परेकोले उनलाई निस्कासन गरिएको दाबी गरे ।
पहिलोप्रेस
२४ भाद्र २०८०, आईतवार १२:०६