प्रशिक्षणमा आएनन् उपसभापति खडका र पूर्व मुख्यमन्त्री शाही
सुर्खेत ।
नेपाली काँग्रेसबाट निर्वाचित कर्णाली जनप्रतिनिधिलाई आज देखि दिने भनिएको प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय उपसभपति एवम उपप्रधान एवम रक्षा मन्त्री पूर्णबहादुर खड्का र संसदीय दल कर्णाली प्रदेशका नेता पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही अनुपस्थित भएका छन् ।
पूर्व निर्धारित कार्यक्रममा हाल सुर्खेतमै रहेकी केन्द्रीय सदस्य एवम प्रदेश सांसद जानकी सिंहलाई समेत उक्त कार्यक्रममा नबोलाईएको पाइएको हो ।
आज देखि सुरु भएको उक्त प्रशिक्षण कार्यक्रममा उनिहरु दुवै जना उपस्थित हुने अपेक्षा गरिएपनि उपस्थित नहुँदा जनप्रतिनिधिहरु भने निराश बनेका छन् ।
‘हामीलाई सुरुमा उपप्रधानमन्त्री, संसदीय दलका नेता आउनुहुने भनिएको थियो ।’ नाम उल्लेख नगर्ने शर्तमा त्यहाँ उपस्थित एक जनप्रतिनिधिले पहिलोप्रेसलाई भने, ‘उहाँहरुको अनुभव सुन्न पाउने धोको यसपाली पुरा हुन सकेन । यसको के कारण हो थाहा भएन ।’
नेपाली काँग्रेसका केन्द्रीय समिति सदस्य जानकी सिंहलाई समेत कार्यक्रममा बोलाइएको छैन । प्रदेश सांसद समेत रहेकी उनलाई नबोलाउनु र खड्का, शाही अनुपस्थित हुनु दुःखको कुरा भएको ती जनप्रतिनिधिको गुनासो छ ।
यता, प्रदेश सभा सदस्य एवम केन्द्रीय सदस्य जानकी सिंहले आफू सुर्खेतमै रहेको बताईन ।
‘कार्यक्रम हुँदैछ भन्ने सुनेकी थिएँ तर मलाई बोलाइएन ।’ उनले भनिन, ‘प्रदेश सांसदलाई नबोलाइएको हो की वा के कारण हो, खबर नआएपछि जाने कुरा पनि त हुँदैन नि होइन ।’
उक्त कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण विसी, आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्क पोखरेललगायत भने सहभागि भएका छन् ।
१० जिल्ला र ७९ वटा स्थानीय तह रहेको कर्णालीमा कांग्रेसबाट नगरपालिका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र समन्वय समिति प्रमुख र उपप्रमुखमा गरेर ६५ जना निर्वाचित छन्। कांग्रेसका अनुसार कर्णालीमा जिल्ला समन्वय समिति प्रमुखमा पाँच, उपप्रमुखमा एक, नगर प्रमुखमा १२, उपप्रमुखमा १०, गाउँपालिका अध्यक्षमा २० र उपाध्यक्षमा १७ जना जनप्रतिनिधि कांग्रेसका छन्।
नेपाली काँग्रेस कर्णाली प्रदश र्कासमितिका प्रवक्ता दमन शाहीको यसबारेमा प्रतिक्रिया लिन खोज्दा एकछिन पछि फोन गर्ने भन्दै फोन राखे ।
पहिलोप्रेस
२४ भाद्र २०८०, आईतवार १३:३८