शिक्षकहरु आन्दोलनमा होमिएका बेला एमालेका शिक्षक भने धमाधम प्रदेश प्रतिनिधि बन्दै
सुर्खेत ।
देशैभरका सामूदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरु काठमाडौं केन्द्रीत भएर आन्दोलित भइरँहदा एमाले शिक्षकहरु भने प्रदेश प्रतिनिधिमा धमाधम चयन हुन थालेका छन् ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिकाबाट दुई जना शिक्षकहरु प्रदेश प्रतिनिधिमा आएको खबर यसअघि नै पहिलोप्रेसमा सार्वजनिक भइसकेको छ ।
यता, दैलेखको दुल्लु नगरपालिकाबाट एक जना प्रधानाध्यापक समेत प्रदेश प्रतिनिधिमा छानिएर आएपछि दैलेखमा हल्ला खल्ला मच्चिएको छ ।
लामो समय एमालेमै राजनीति गरिरहेकाहरु प्रदेश प्रतिनिधिमा नआउने तर शिक्षण पेशामा आवद्ध भएकालाई एमाले नेताहरुले प्रदेश प्रतिनिधि चयन गरेको भन्दै सामाजिक सञ्जालमा विरोध समेत गर्दै आइरहेका छन् ।
दुल्लु नगरपालिकाको वडा नं. १३ मा रहेको सरस्वतीदेवि माध्यमिक विद्यालय विनायकका प्रधानाध्यापक कृष्ण भट्टरार्ई उर्फ केपि भट्टराई एमालेको प्रदेश प्रतिनिधिमा छानिएर आएपछि दुल्लु एमालेमा भाडभैलो मच्चिएको छ ।
यसअघि दुल्लु एमालेमा लक्ष्मी प्रसाद पोखरेल हावी भइरहेकोमा यसपटक उनकै टिममा रहेका रुद्र शाही अर्को टिममा लागेपछि पनि यो विषयले प्राथमिकता पाएको हो ।
आमाछोरा पनि छानिए प्रतिनिधि
यसैबीच, दुल्लु नगरपालिकाबाट आमा छोरा पनि प्रतिनिधि छानिएर आएका छन् । दुल्लु नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णु थापा र उनका छोरा जितेन्द्र कुमार थापा पनि प्रतिनिधि छनौट भएर आएका हुन ।
एमालेको प्रथम प्रदेश अधिवेशन यहि असोज १० गते वीरेन्द्रनगरम हुने भएको छ । सोही अधिवेशनको प्रयोजनका लागि एमालेले ७९ ओटै पालिकाबाट धमाधम प्रदेश प्रतिनिधि चयन गरिरहेको छ ।
पहिलोप्रेस
४ आश्विन २०८०, बिहीबार १८:१०