Loading... आजः ५ पुष २०८१, शुक्रबार

आजदेखि चरणबद्व आन्दोलन गर्दै मृतक बालक पुरीका आफन्त

प्रहरी भन्छः अनुसन्धान जारी छ

सुर्खेत ।
असोज १३ गते वीरेन्द्रनगरको मुलपानी नजिकै एक नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिदाँ घटनास्थलमै निधन भएका, दैलेखको आठबीस नगरपालिका वडा नं. ६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीका आफन्तले आजदेखि भरणबद्ध आन्दोलन गर्ने तयारी गरेका छन् ।

घटना घटेको २४ घण्टा पुगेपनि प्रहरीले दुर्घटनाकर्तालाई जोगाएको उनका आफन्तहरुले आशंका गरेका छन् ।

मामाको घरबाट फुपुको घर जाने भन्दै घरबाट निस्केका दिग्दर्शनलाई जेव्राक्रसमै उक्त मोटरसाईकलले हानेको थियो । मोटरसाइकलले ठक्कर दिएपनि उनलाई चालकले झण्डै १५ मिटर भन्दा बढि मोटरसाइकलको लेकगार्डमा लतार्दै लगेको र सो कारण उनको निधन भएको आफन्तको भनाई छ ।

‘आज विहान दश बजेसम्म हामी कुर्छौं, नभए हामी कर्णाली राजमार्ग नै अवरुद्ध पार्छौं ।’ आठबीस ६ खिड्कीज्यूलाका लक्ष्मी प्रसाद जैसीले भने, ‘राज्यले यस्तो जघन्य घटना गर्नेलाई तत्काल कानूनी कारवाहीमा ल्याउनुपर्नेमा उल्टै ढिलासुस्ती गरेको छ । राज्यले हाम्रा कुरा राजमार्ग बन्द नगरेसम्म नसुन्ने भएका कारण हामी अब यो चरणमा पुग्न लागेका छौं ।’

उता, वडा नं. ६ का वडाअध्यक्ष नमराज शर्माले राजधानीकै सडकमा यस्तो घटना हुँदा पनि प्रशासन संयन्त्र निरीह भएको हो कि भन्ने लागेको बताए ।

‘राजधानीमै यस्ता घटना भए । बालकको दुर्घटनामा मृत्यू भएको भनिएपनि यसको आन्तर्य के हो बुझ्न सकिएको छैन । यदि दुर्घटना नै हो भनेपनि कम्तिमा मोटरसाइकल चालकलाई किन प्रहरीले नियन्त्रण गर्न नसकेको ?’

उनले प्रश्न गरे, ‘के बजारमा नारावाजी, तोडफोड, आन्दोलन, चक्काजाम र प्रदर्शन गरे मात्रै राज्यको आँखा खुल्ने हो ?’
यता, प्रहरी भने आफूहरुले घटनामा सहभागि मोटरसाइकललाई निरन्तर खोजिरहेको बतायो ।

‘हामीले ७ जनाको टिम नै बनाएर मोटरसाइकल चालकलाई खोजिरहेका छौं । उपत्यकामा भएका ९९ ओटा सिसिटिभी क्यामेरा मध्ये सात ओटा मात्रै सुचारु छन् । हामीले हरेक कोणबाट अनुसन्धान थालेका छौं तर हामीले अहिलेसम्म पत्ता लगाउन भने सकेका छैनौं ।’ जिल्ला प्रहरी कार्यालय सिुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले भने, ‘सिसिटिभी मर्मत गर्न नगरपालिका देखि सबै स्थानमा हारगुहार गरेका थियौं । सुनुवाई भइदिएको भए घटना लगत्तै हामी उक्त चालकलाई सिसिटिभीको सहायतामा नियन्त्रणमा लिइसक्ने थियौं ।’

उनले राज्य भनेको प्रहरी मात्रै हो भन्ने परेको भन्दै गुनासो गरे । ‘प्रहरी मात्रै राज्य होइन नि, राज्य भनेको त सबै निकाय हो ।’ उनले गुनासो गरे ।


सम्बन्धित समाचार