मनसुन बाहिरिएका बेला आठवीसमा असिना, करोडौंको धानवाली सखाप
सुर्खेत ।
आइतबार राती परेको असिनापानीले दैलेखको आठबीस नगरपालिकामा कृषकले लगाएको धानवाली सखाप पारेको छ ।
धानवाली भित्र्याउने तर्खर गरिरहेका किसानहरु अहिले पूर्ण रुपमा तनावमा गएका छन् भने राहतका लागि सरकारसँग अपिल गर्न थालेका छन् ।
गएराती आठबीस नगरपालिकाको वडा नं. ९ को छेपाडी, पुर्छा, वडा नं. ७ को माथिल्लो भेग, वडा नं. ६ को सिंहासैन, ताउनी, लम्धार, वडा नं. पाँचको गोर्खी, सदेखर्क, लयापाताल, बाँजाकाटीयाँलगायतका दर्जनौं वस्तीमा अकस्मात असिनापानी परेको थियो ।
‘तल्लो क्षेत्रमा कृषकले धानवाली भित्र्याइसकेका छन् । हाम्रो माथिल्लो भेगमा भने धानवाली पाक्नै लागेको थियो ।’ वडा नं. ६ का बलबहादुर थापाले पहिलोप्रेससँग भने, ‘धानवाली भित्र्याउनै लाग्दा अकस्मात परेको असिनाले वाली पूर्ण रुपमा क्षति भएको छ । हामीलाई रुनु न हाँस्नु बनाएको छ ।’
नेपालबाटै मनसुन बाहिरिएको मौसम विभागले जानकारी दिइरहेको समयमा अकस्मात परेको उक्त असिनाानीले हजारौं किसनाका खेतहरु रित्याएको उनको भनाई छ ।
यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीले पीडित किसानलाई प्रदेश सरकारले राहत दिने बताए ।
‘हामी कृषकको क्षति भएको पाँच भाग मध्ये एक भाग अर्थात २० प्रतिशत राहत वा क्षतिपुर्तिको व्यवस्था गर्छौं ।’ मन्त्री जिसिले भने, ‘प्रदेश भरिका लागि राहत वितरण गर्न ६ करोड विनियोजन गरेका छौं । अपुग रकम थपेर भएपनि उहाँहरुलाई राहत दिन्छौं ।’
उनले प्रदेश सरकारले बनाएको कार्यविधी अनुसार २० प्रतिशत क्षतिपुर्ति उपलब्ध गराईने बताउँदै त्यसकालागि प्रहरी मुचुल्का बनाएर सम्वन्धित जिल्ला कृषि विकास कार्यालयमा पठाउन अनुरोध समेत गरे ।
पहिलोप्रेस
२९ आश्विन २०८०, सोमबार १५:३९