Loading... आजः ६ पुष २०८१, शनिबार

सरकारकै निर्णय टेर्दैनन् कर्णालीका कर्मचारी, डिएफओ रावत मान्दैनन कार्यालय छोडन

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले गरेको निर्णय कर्णाली प्रदेशकै मातहतमा रहेका कर्मचारीहरुले समेत टेर्न छोडेका छन् । जसको कारण कर्णाली प्रदेशको एक कार्यालयमा हाल दुई जना कार्यालय प्रमुखको रुपमा रहेका पाइएको छ ।

प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विगत दुई वर्ष देखि डिभिजन वन कार्यालय सुर्खेतमा कार्यरत डिएफओ मुन बहादुर रावतको असोज ६ गते सरुवा गरेको थियो ।

उनको स्थानमा डिभिजन वन कार्यालय भेरीका डिएफओ वसन्त वावु श्रेष्ठको सरुवा भएको र रावतको सरुवा मन्त्रालयको महाशाखा हेर्ने गरि मन्त्रीस्तरको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरुवा गरेको थियो ।

श्रेष्ठले सरकारले दिएको पत्र अनुसार रमाना बुझेर डिभीजन वन कार्यालय सुर्खेतमा पुग्दा रावतले मानेनन भने भेरी डिभिजनमा भने हुम्ला वन कार्यालयबाट सरुवा भइ आएका बलमलाल चौधरी हाजिरी भइसकेका छन् ।

उता, कार्यालय प्रमुख भएको स्थानबाट सरकारको निर्देशन भनेर रमाना लिइ आएका श्रेष्ठ भने हाल अलपत्र अवस्थामा परेका छन् ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले बारम्बार मन्त्रालयमा हाजिर हुन भनेर रावतलाई निर्देशन दिदाँ पनि रावतले आनाकानी गरेका छन् ।

मन्त्रालयमा हाल तीन जना उपसचिव रहेकोमा एक जनाले निर्देशनालय र दुई जनाले मन्त्रालयका महाशाखा चलाउनुपर्ने भन्दै रावतलाई मन्त्रालयमा सरुवा भएको थियो ।

तर उनले मन्त्रालयको निर्णय नै अस्वीकार गरिदिएपछि मन्त्रालयका कर्मचारीबीचमा हल्ला खल्ला चल्न थालेको छ ।

‘मन्त्रीस्तरीय निर्णय नै नमान्ने हो भने यो त सरकारकै अपमान भएन र ?’ पहिलोप्रेससँग कुरा गर्दै मन्त्रालयका एक कर्मचारीले भने, ‘या त उहाँले सरकारको आदेश अनुसार काममा खट्नुपर्छ, चित्त नबुझे राजीनामा दिने वा अदालत जाने काम गर्नुपर्छ । यसरी एकै कार्यालयमा दुई कार्यालय प्रमुख कसरी हुन सक्छन ?’

मन्त्रालय स्रोतका अनुसार रावतको नियमित प्रक्रिया अनुसार नै सरुवा भएको हो ।

यता, मन्त्रालयका सूचना अधिकृत निरज श्रेष्ठले उनको सरुवा मन्त्रालयमा भएको भएपनि उनि हाजिर नभएको बताए ।

‘उहाँको सरुवा भइसकेको हो । उहाँ हालसम्म मन्त्रालयमा किन हाजिर हुन आउनु भएन त्यो थाहा भएन ।’ उनले भने, ‘भोली मन्त्री ज्यू आउने कुरा छ । उहाँ आएपछि सहमति खोजिन्छ होला ।’

यसबारेमा कुरा गर्न खोज्दा डिएफओ रावतले फोन उठाएनन् ।


सम्बन्धित समाचार