Loading... आजः ४ पुष २०८१, बिहीबार

भूकम्पपीडितका लागि कम्तीमा एक वर्ष टिक्ने अस्थायी संरचना निर्माण गरिने

अस्थायी संरचना निर्माण सम्वन्धी अध्ययन गर्न भौतिक मन्त्रालयको टिम जाजरकोटमा

सुर्खेत ।
कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी घरबारविहीन बनेका पीडितहरुलाई तत्काल अस्थायी संरचनामा भित्र राख्न अध्ययन सुरु भएको छ ।

पहिलो चरणमा उद्धार र उपचारको कार्य गरेको प्रदेश सरकारले दोश्रो चरणमा राहत वितरणसँगै अस्थायी संरचना निर्माणबारे पनि काम गर्न सुरु गरेको हो ।

जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पले ठुलो मात्रामा घरहरु क्षति गरेपछि तत्काल स्थायी संरचना निर्माण गर्न नसकिएपनि हाललाई जाडो तथा अन्य रोगको संक्रमणबाट जोगाउन अस्थायी संरचना निर्माणका लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले स्थलगत अध्ययन तथा अवलोकन गर्न सुरु गरेको हो ।

मन्त्रालयको टोलीमा मन्त्री मंगल शाही, सचिव विष्णु भण्डारी, पूर्वाधार निर्देशनालयका निर्देशक श्यामशरण आचार्यलगायत इन्जिनियरको टिमले आज जाजरकोट र रुकुम पश्चिममा स्थलगत अवलोकन तथा अध्ययन गर्ने भएको हो ।

“हजारौं नागरिक बेघरबार भएका छन् । उनिहरुलाई तत्काल अस्थायी संरचनामा कसरी ल्याउन सकिन्छ भनेर मन्त्रालयले अध्ययन गरिरहेको छ ।” मन्त्री शाहीले भने, “तत्काल अस्थायी संरचना निर्माण गरेर नागरिकलाई जाडोबाट जोगाउने र बाँकी स्थायी संरचना निर्माणको चरणमा प्रवेश गर्ने मन्त्रालयको तयारी छ । सोही अनुसार आज हामी जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लाको स्थलगत अध्ययन गर्ने र अवलोकन गरेर आवश्यक निर्णय लिने तयारीमा छौं ।”

मन्त्री शाहीका अनुसार हाललाई अस्थायी संरचना कस्तो बनाउने भन्ने बारेमा मोटामोटी छलफल सकिएको बताए । यद्यपी संरचना कस्तो बनाउने भन्ने निर्णय भने भइनसकेको उनको भनाई थियो ।

“कुन स्थानमा कस्ता संरचना निर्माण गर्न सकिन्छ, त्यो स्थलगत अध्ययन गरेपछि मात्रै थाहा हुने देखियो ।” मन्त्री शाहीले भने, “कम्तीमा एक वर्षसम्म सामूहिक रुपमा बस्न मिल्ने खालको अस्थायी संरचना निर्माण गर्ने गरि तयारी भइरहेको छ । यद्यपी टुंगो लगाउन केहि दिन लाग्ला ।”

यता, पूर्वाधार निर्देशनालयका निर्देशक श्यामशरण आचार्यले अस्थायी संरचना निर्माण गर्न सकेसम्म स्थानीय सामाग्री नै प्रयोग गर्ने गरि डिजाईन गरिने बताए । “हामीले स्थानीय स्तरमा नै प्राप्त हुने सामाग्री प्रयोग गर्ने योजना बनाइरहेका छौं । कम्तीमा निर्माण भएका अस्थायी संरचना एक वर्षसम्म टिक्ने खालको निर्माण गर्ने योजनामा मन्त्रालय छ ।” उनले भने, “संरचनामा त्रिपाल राख्ने वा जस्तापाता राख्ने भन्ने निर्णय हामी सुर्खेत पुगेर गर्छौं ।”

 


सम्बन्धित समाचार