चौरजहारीका दुई हजार घरमा पुग्यो राहत, आज दुई हजार घरलाई बाँडिदै
सुर्खेत ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका १४ ओटै वडामा मंगलबार बाट राहत वितरण सुरु भएको छ ।
मंगलबार उक्त नगरपालिकाका दुई हजार घर परिवारलाई राहत वितरण गरिएको हो भने आज बुधबार पनि सोही परिमाणमा राहत वितरण गर्न लागिएको हो ।
कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण १४ वडा रहेको उक्त पालिकामा झण्डै २५ सय घरहरु पूर्ण रुपमा क्षति भएका छन् भने सात हजार घरहरु बस्न नमिल्ने अवस्थामा रहेको मुख्यमन्त्री राजकुमार शर्माको प्रमूख स्वकीय सचिव शैलेश शर्माले बताए ।
उनका अनुसार, अहिले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सहयोगी निकायहरुले प्रदान गरेको राहत सामानहरु वितरण गरिएको हो ।
उनका अनुसार कम्बल, त्रिपाल, प्रिफर्म, भाँडाकुँडाहरु प्रभावित घरधुरीलाई वितरण गरिएको हो । यस्तै, खाद्यान्न पनि केहि घरका लागि वितरण गरिएको उनको भनाई छ ।
हाल पालिकामा स्थलमार्गबाट धमाधम राहत सामाग्रीहरु ल्याउने काम भइरहेको सचिव शर्माले बताए ।
पहिलोप्रेस
२२ कार्तिक २०८०, बुधबार ०८:४४