Loading... आजः २ कार्तिक २०८२, आईतवार

नेकपा एस दैलेखका सचिवालय सदस्य शाही माओवादी प्रवेश

सुर्खेत ।
नेकपा माओवादी केन्द्रमा नेकपा एकीकृत समाजवादी पार्टी दैलेखका जिल्ला सचिवालय सदस्य एवम एमाले निकट राष्ट्रिय युवा संघका पूर्व जिल्ला अध्यक्ष उपेन्द्र शाही आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले आज खादा ओढाउँदै पार्टीमा स्वागत गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका प्रदेश कमिटि अध्यक्ष विमला केसीको समेत सहभागिता रहेको थियो ।

‘अहिलेको व्यवस्था ल्याउनुमा नेकपा माओवादीको मुख्य हात रहेको हो । अन्य दलहरुले यो व्यवस्थामा टेकेर राजनीतिक लाभ लिइरहेका पाइयो ।’ नवप्रवेशी शाहीले पहिलोप्रेससँग भने, ‘अरुबाट देशको रुपान्तरण र समाजवाद उन्मुख राज्य व्यवस्था बन्न नसक्ने निष्कर्षका साथ म आज नेपाली जनताको प्यारो पार्टी माओवादीमा समाहित भएको हो ।’

उनले पछिल्लो समय सरकारको नेतृत्व गरिरहेको पार्टी माओवादीले जनपक्षीय कामहरु गर्दै गइरहेको बताए ।
‘यो सरकारले जनपक्षीय कामहरु गर्दै गइरहेको छ । सुनकाण्डा देखि विभिन्न भ्रष्टाचारका फाईलहरु खोल्ने देखि संघीयतालाई कार्यान्वयन गर्ने सवालमा पार्टी अघि बढिरहेको छ ।’ उनले भने, ‘पार्टीको उक्त गतिलाई थप मलजल गर्न र जनचाहना अनुसार भएको परिवर्तनलाई थप मजवुत बनाउन म माओवादीमा लागेको हुँ ।’

माओवादी केन्द्रका इन्चार्ज यादवले माओवादी नेतृत्वको सरकारले हाल गरिरहेको जनपक्षीय कार्य देखेर केहि व्यक्तिहरु छटपटाईरहेको बताए ।

‘अहिले केहि व्यक्ति र केहि कथित दलहरु वर्तमान सरकारको कामलाई देखेर तर्सिएका छन् । कर्णाली प्रदेशभर नेकपा माओवादीमा जनताको आकर्षण बढिरहेको समयमा माओवादीमाथि अनेक तिकडम गर्दै भ्रमपूर्ण हल्ला फैलाएर स्वार्थ पुरा गर्न खोजिरहेका छन् ।’ उनले भने, ‘तर अब नेपाली जनताले यिनीहरुको चरित्र बुझिसकेका छन् । नेपालको हितमा, जनताको पक्षमा काम गर्ने पार्टी नेकपा माओवादी केन्द्र भएका कारण अहिले हाम्रो पार्टीप्रति जनताको लगाव बढदै गएको छ ।’


सम्बन्धित समाचार