Loading... आजः २२ आश्विन २०८१, मंगलवार

जनज्योती माविले ६० जना भूकम्पपीडित विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा अध्यापन गराउने

सुर्खेत । बराहताल गाउँपालिकाको बड्डीचौरमा रहेको जनज्योती माध्यमिक विद्यालयले कात्तिक १७ गते गएको भूकम्पमा परि पीडित भएका साठी जना विद्यार्थीलाई निःशुल्क रुपमा प्राविधिक शिक्षा अध्यापन गराउने भएको छ ।

जाजरकोट र रुकुम पश्चिम अत्यन्तै प्रभावित भएको भन्दै विद्यार्थीहरुको भविष्य भूकम्पका कारण ओझेलमा नपरोस भनेर यस्तो निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले जानकारी दिए ।

दुवै जिल्लाबाट पालिकाले सिफारिस गरेर आएका कृषि जेटिए वा पशु जेटिए अध्ययन गर्न चाहने ३० जना विद्यार्थीलाई १८ महिनासम्म लाग्ने शुल्क विद्यालयले नलिने र उनिहरुलाई निःशुल्क रुपमा अध्यापन गराईने उनले बताए । १८ महिने यो कोर्षका लागि विद्यालयले हाल ३० हजार रुपैंया लिने गरेको छ ।

यस्तै, कृषि एवम पशुतर्फ तीन वर्षे डिप्लोमाका लागि पनि ३० जना विद्यार्थीलाई भर्ना गरिने उनको भनाई छ । यो कोर्ष पुरा गर्न विद्यालयले प्रति विद्यार्थी एक लाख ७५ हजार रुपैंया लिँदै आएको थियो ।

प्रधानाध्यापक सिग्देलले कृषि डिप्लोमा गर्नका लागि तीस जना विद्यार्थीको शुल्क ५२ लाख५० हजार र १८ महिने कोर्षका लागि नौ लाख गरी कुल ६१ लाख ५० हजार रुपैंयाको छात्रवृत्ति दिइने बताए ।

हाल हामी विद्यालयले नै सो संख्यामा विद्यार्थीलाई भर्ना गर्ने र निःशुल्क अध्यापन गर्नेछौं । तिहार लगत्तै हामी कक्षा सञ्चालन गर्छौँ । छात्रवृत्तिका लागि कुनै दाता वा निकायले सहयोग गरेको खण्डमा भने हामी त्यो सहयोग लिन्छौं, पहिलोप्रेससँग उनले भने ।


सम्बन्धित समाचार