भौतिक मन्त्रालयद्वारा तिहार लगत्तै भूकम्प प्रभावित गाउँमा अस्थायी टहरा बनाउने
सुर्खेत ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तिमा अस्थायी टहरा निर्माण गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषदको वैठकले मन्त्रालयलाई अस्थायी आवासको व्यवस्थाका लागि आवश्यक काम गर्न जिम्मेवारी प्रदान गरेपछि मन्त्रालयले तिहार लगत्तै भूकम्पपीडित नागरिकहरुका अस्थायी टहरा निर्माण गर्ने निर्णयमा पुगेको हो । यसकालागि मन्त्रालयले अस्थायी टहरा निर्माणमा सहयोग गर्न चाहने इच्छुक दातृ निकाय, साझेदार संघ संस्थालाई जस्तापाता एवम त्रिपाल सहयोग गर्न आव्हान गरेको छ ।
कात्तिक १७ गते जाजरकोटको वारेकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कर्णाली ६५ हजार भन्दा बढी घरहरु क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त प्रारम्भिक अनुमानका आधारमा कर्णालीमा ती घरहरुमा बस्दै आइरहेका हजारौं नागरिकलाई अस्थायी टहरामा बस्ने वातावरण बनाउन टहरा निर्माण गर्नुपर्ने भन्दै त्यसकालागि ठूलो मात्रामा बजेट आवश्यक पर्ने मन्त्रालयको निष्कर्ष छ ।
मन्त्रालय स्रोतका अनुसार त्रिपाल र जस्तापातासहित कम्तिमा पनि साढे तीन अर्व खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।
आज विहान मन्त्री मंगल शाहीको अध्यक्षतामा सहयोगी संस्थाहरुसहित बसेको वैठकले उक्त निर्णय गरेको हो ।
“विपदको समयमा विभिन्न सरकारी एवम गैरसरकारी संघसंस्थाले ठूलो सहयोग गर्नु भएको छ । उक्त सहयोगका लागि सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।” मन्त्री मंगल शाहीले भने, “अब राहत र उद्धारको कार्य सकिएको छ । विस्थापित भएका हजारौं नागरिकलाई तत्काल अस्थायी टहरामुनि ल्याउने गरि सरकार अघि बढिरहेको छ । यसकालागि जसले जति सकिन्छ, त्यतिद सहयोग गर्न म आव्हान गर्दछु ।”
मन्त्री शाहीले नागरिकलाई तत्काल पालमुनि ल्याउन प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गरेर तिहार लगत्तै काम सुरु गर्नेसमेत बताए ।
यस्तो छ घरधुरीको प्रारम्भिक क्षतिको अनुमान
विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार जजरकोटको छेडागाड नगरपालिकामा १९४५ घरधुरी पूर्ण क्षति भएका छन भने ४५४५ घर आंशिक क्षति भएका छन् । कुल ६ हजार ४९० घरधुरी विस्थापित भएका छन् ।
जाजरकोटकै भेरी नगरपालिकामा २५३० घर पूर्ण रुपमा क्षति भएका छन् भने ४२३८ घर आंशिक रुपमा क्षति भएका छन् । ६ हजार ७६८ घरका नागरिकहरु भूकम्पका कारण विस्थापित भएका छन् ।
बारेकोट गाउँपालिका केन्द्रविन्दु बनाएर आएको भूकम्पले वारेकोटमा १०३५ घर पूर्ण रुपमा क्षति गराएको छ भने २२८६ घर आंशिक क्षति बनाएको छ । रिर्पोट अनुसार ३३२१ घरमा बस्दै आइरहेका नागरिकहरु विस्थापित भएका छन् ।
कुशे गाउँपालिकामा १५०४ घर पूर्ण रुपमा क्षति हुँदा ३०९८ घर आंशिक क्षति भएका छन् । यहाँका ४६०२ घरका नागरिकहरु विस्थापित भएका छन् ।
जुनिचाँदे गाउँपालिकामा ३ हजार ९७८ घरमा बस्दै आइरहेका नागरिकहरु विस्थापित भएका छन् । यो पालिकामा ६३४ घर पूर्ण क्षति भएका छन् भने ३३४४ घर आंशिक रुपमा क्षति भएका छन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका १५५२ घर भूकम्पका कारण पूर्ण रुपमा क्षति भएका छन भने ४५७४ घर आंशिक रुपमा क्षति भएका छन् । कुल ६१२६ घरहरुमा बस्दै आइरहेका नागरिकहरु अहिले विस्थापित भएका छन् ।
त्रिवेणी गाउँपालिकामा १९३५ घरधुरी विस्थापित भएका छन् । यहाँ १९३५ घरधुरी पूर्ण रुपमा क्षति भएका छन भने १२५८ घरहरु आंशिक क्षति भएका छन् ।
सानीभेरी गाउँपालिका३७४१ घरधुरी प्रभावित भएका छन् । जसमध्ये १२४६ घरधुरीमा बस्दै आइरहेका नागरिक पूर्ण रुपमा विस्थापित भएका छन् ।
पहिलोप्रेस
२५ कार्तिक २०८०, शनिबार ०९:५०