Loading... आजः २३ भाद्र २०८१, आईतवार

यसकारण कर्णालीले दिदैँछ खेलाडीलाई मासिक भत्ता

कुन खेलका खेलाडीले पाउनेछन भत्ता ? हेर्नुहाेस विवरण

सुर्खेत ।
कर्णाली प्रदेश खेलकुद परिषदको पन्ध्रौं वोर्ड वैठकले कर्णालीमा खेल क्षेत्रको विकासका लागि खेलाडीलाई प्रोत्साहन दिने निर्णय गरेको छ ।

आगामी वर्ष कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीका खेलाडीले बढी भन्दा बढी पदक प्राप्त गर्न सकुन भन्ने ध्येयका साथ प्रोत्साहन भत्ता दिने निर्णय भएको बताइएको छ ।

वोर्डका अध्यक्ष एवम सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलको अध्यक्षतामा सोमबार बसेको वैठकले कर्णालीका झण्डै डेढ सय खेलाडीलाई मासिक पाँच हजारका दरमा प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

उनका अनुसार आगामी वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी भइरहेको समयमा कर्णाली प्रदेशले पाँच ओटा खेलकुदलाई ‘क’ श्रेणीमा राख्ने निर्णय गरिसकेको छ ।

‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशबाट छनौटमा परेका ‘क’ श्रेणीका पाँच वटा खेल (एथलेटिक्स, उसु, आईटीएफ, कराँते र तेक्वान्दो)का खेलाडीहरुलाई दैनिक प्रशिक्षण गरेवापत खाजा खर्च स्वरुप मासिक रु. ५०००। (पाँच हजार) उपलब्ध गराउने निर्णय भएको छ ।’

सदस्य सचिव संज्यालले भने, ‘यसरी मासिक रकम उपलब्ध गराउँदा कर्णाली प्रदेश खर्च मापदण्ड अनुसार दैनिक प्रशिक्षण गरेवापत खाजा खर्च रु २०० प्रति दिनका दरले शनिवार तथा प्रशिक्षण नभएको दिन घटाई बढीमा २५ दिन बरावरको हुन आउने रकम प्रशिक्षकले खेलाडीलाई प्रशिक्षण गराएको दैनिक हाजिरी प्रमाणित गरि पेश गरेको आधारमा बढीमा पाँच हजार भुक्तानि हुनेछ ।’

उनका अनुसार यी पाँच ओटा पहिलो प्राथमिकतामा रहेका खेलहरुका खेलाडीको छनौट जिल्ला खेलकुद विकास समितिले गर्ने भएको हो ।

‘हरेक पालिकाबाट जिल्लामा छनौट भएर आएका खेलाडीहरु मध्येबाट प्रदेश स्तरीय खेलाडी छनौट भएर आउनेछन् ।’ उनले भने, ‘पुस अन्तिमसम्म सबै खेलाडीको टुंगो लाग्ने र त्यसपछि दशौं खेलकुदका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिने भएको छ । माघबाट खेलाडीले पाँच हजारका दरमा प्रोत्साहन भत्ता पाउन सुरु गर्नेछन् ।’

यता, मन्त्री पोखरेलले खेलाडीको मनोबल उच्च बनाउन प्रदेश सरकारको तर्फबाट सानो प्रयास गरिएको बताए ।
‘हामी खेलाडीलाई खेल क्षेत्रमै भविष्य छ, सरकारले त्यसको ग्यारेन्टी गर्छ भन्ने कुरा देखाउन र पुष्टि गर्न चाहन्छौं ।’ मन्त्री पोखरेलले भने, ‘यो सुरुवात मात्र हो । आगामी दिनमा यस प्रयोगको परीक्षण गरेर हामी अघि बढछौं ।’

परिषदका संरक्षक समेत रहेका मुख्यमन्त्रि राजकुमार शर्माले हिजाे परिषदको १५औं बैठक बस्नु पुर्व  सामाजिक बिकास मन्त्रि र परिषदका सदस्य सचिवलाइ दशौं राष्ट्रिय खेलकुदमा छनौट हुने खेलाडीलाइ प्रोत्साहन गर्न र क्रिकेट खेल बिकासको लागि तत्कालिन र दिर्घकालिन योजना तयार गर्न निर्देशन दिएका थिए ।